सांसद महेश बस्नेतले चुनाव जितेको १ बर्षमा के-के काम गरे ?

सांसद महेश बस्नेतले चुनाव जितेको १ बर्षमा के-के काम गरे ?


काठमाडौं – गत वर्ष मंसिर २१ गते भएको प्रदेश र प्रतिनिधिसभाको चुनावमा महेश बस्नेत पूर्वसभामुख दमननाथ ढुंगानालाई पराजित गर्दै संघीय संसद सदस्यको रुपमा निर्वाचित भएका थिए ।

सांसद महेश बस्नेत भक्तपुर–२ बाट निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा बस्नेतले मतदातालाई धन्यवाद दिँदै यो अवधिमा आफूले गरेका कामबारे जानकारी समेत गराएका छन् ।

जनप्रतिनिधिका रुपमा एक वर्षको अवधिमा आफ्नो प्रयासमा निर्वाचित क्षेत्र तथा राष्ट्रियस्तरमा भइरहेका विकास निर्माणबारे विज्ञप्तिमार्फत जानकारी गराएका छन् । सांसद बस्नेतले भक्तपुरको समग्र विकासका लागि आफूले संसदमार्फत निरन्तर आवाज उठाउँदै आएको दाबी गरेका छन् ।

यी हुन् सांसद बस्नेतले दाबी गरेका काम ?

-२०७५ असार २७ गते बाढीबाट भक्तपुर डुबानमा पर्दा प्रत्यक्ष रुपमा प्रभावितहरुको पीडामा सहानुभूति प्रकट गर्नुका साथै अकल्पनीय क्षतिलाई न्यूनीकरण गर्न विशेष पहल गरिएको छ । यस्तै प्राकृतिक विपत्तिलाई नियन्त्रण गर्न दुवै नगरपालिकामा ढल व्यवस्थापन गरिएको छ भने सयौं सौर्य बत्ति जडान गरिएको छ ।

-प्रदेश नम्बर ३ को स्थायी राजधानी भक्तपुर हुनुपर्ने माग सहित अन्तर्रा्ष्ट्रिय स्तरको खेलमैदान तथा सम्मेलन केन्द्र भक्तपुरमा निर्माण गर्नको निम्ति आधार तयार गर्ने काममा लागि परेको छु ।

-राजधानीलाई जोड्ने अरनिको राजमार्गलाई व्यवस्थित बनाउने अभियान अन्तर्गत जडिबुटीमा विद्यमान सवारी जामलाई अन्त्य गर्नको निम्ति वैकल्पिक मार्गको पहिचान गरी व्यवस्थापन गर्ने काम अगाडि बढेको छ ।

-गठ्ठाघरमा अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र बनाउने निर्णय हुनुको साथै कोटेश्वर र साँगामा सुरुङमार्ग निर्माण प्रक्रिया अगाडि बढेको छ । एक वर्षको अवधिमा ८१ करोडको लागतमा हनुमन्ते करिडोर निर्माणको पहिलो चरणको कार्य थालनी गरेको छु।

-पेप्सीकोला देखि सल्लाघारी २० मिटरको सडक निर्माण, सूर्य्विनायकदेखि धूलिखेलसम्मको ६ लेनको सडक लगायत सडक सञ्जाल निर्माण कार्य अगाडि बढेको छ । मनोहरा खोलामा ३ वटा तथा हनुमन्ते नदीमा ५ वटा पूल निर्माण तथा विभिन्न ९ वटा पूल र ३ वटा झोलुङ्गे पुल, ४ वटा ट्रष्ट ब्रिज बनाउने कार्य अगाडि बढेको छ ।

-खानेपानी आयोजनामा बजेट व्यवस्थापन तथा जिल्लामा दीर्घकालिन खानेपानीको व्यवस्थापन गर्न साँगा र मुहान पोखरीमा ठूलो ड्याम निर्माण गर्ने र बालकोट देखि जगातीसम्म मध्यपुरको खानेपानी व्यवस्थापन गर्न बजेट विनियोजन गरिएको छ ।

-विश्वसम्पदा सूचीमा परेको भक्तपुर दरबार क्षेत्र, चाँगु नारायण र मध्यपुर ठिमीको बालकुमारी, चपाचो, बोडे, नगदेश र सूर्य्विनायकको सम्पदा बस्ती व्यवस्थापन गर्न श्रोत व्यवस्थापन गर्न पहल भएको छ भने भूकम्पबाट क्षतिग्रस्त १४ वटा विद्यालय र २२ वटा मठमन्दिर, गुम्बा निर्माण प्रक्रिया अगाडि बढेको छ ।

-जिल्लामा २ वटा स्मार्ट सिटीको डिपिआर सम्पन्न हुने क्रममा रहेको छ भने सिपाडोल, नंखेल, ताथली, सुडालमा नयाँ शहर र हनुमन्ते करिडोरको लोकन्थलीदेखि राधेराधेसम्मको क्षेत्रलाई समेटेर नयाँ शहर निर्माण गर्ने योजना अगाडि बढिसकेको छ ।

-चालू आर्थिक बर्षका लागि सांसद विकास कोषको लागि विनियोजित ४ करोड रकम भक्तपुर क्षेत्र नम्बर २ अन्तर्गतका दुईवटा नगरपालिका सूर्यविनायक तथा मध्यपुरको विभिन्न क्षेत्रको भौतिक विकासका निम्ति समानुपातिक रुपमा विनियोजन गरिएको छ । यसको निम्ति सहजीकरण समिति समेत गठन गरिएको छ ।