काठमाडौं – हत्या मुद्दामा जेल सजाय भोगिरहेका रेशम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि सांसद् पदको सपथ ग्रहण लिएका छन् । सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३ बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका हुन्। चौधरीले थारू भाषामा सपथ लिएका छन्।
चौधरीलाई बिहानै ११ः ३० बजे शपथ गराउने कार्यक्रम रहेको थियो तर जेलको कानुनी प्रकृया पुरा नभएका कारण ३ बजेका लागि सारिएको थियो । सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए। चौधरीको सपथ कार्यक्रम राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरू पनि उपस्थित थिए। उनीहरूले पनि चौधरीलाई फूलमाला लगाए।
सपथ लिए पनि सांसद चौधरी संसद बैठक जाने छैनन्। सपथ लिए पनि चौधरी संसद बैठकमा उपस्थित नहुने सचिव गोपालनाथ योगीले जानकारी दिए। ‘उहाँमाथि तीन वर्षभन्दा बढी कैद सजाय हुने नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भएको छ,’ योगीले भने, ‘पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा उहाँलाई सदस्यका हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार प्रयोग गर्ने उन्मुक्ति छैन।’
चौधरीलाई कारगारबाट निकाल्दा उनको स्वागतका लागि श्रीमती रन्जिता चौधरी श्रेष्ठ, आफन्तजन र राजपाका कार्यकर्ताहरुले फुलमाला लगाएर स्वागत गरेका थिए । चौधरीले निर्वाचित भएको प्रमाणपत्र समेत पाएका छन् । यसअघि उनले संसदको प्रमाणपत्र पाएका थिएनन् । प्रमाणपत्रका लागि उनकी श्रीमती रञ्जिताले बारम्बार आयोगमा दबाब दिँदै आएकी थिइन् । प्रमाणपत्र लिनका लागि उनले अदालतमा मुद्दा समेत दायर गरेका थिए ।
२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडमा एक बालकसहित ८ जनाको हत्या भएको थियो । सो घटनाको मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार भएका थिए । भारतका विभिन्न ठाउँमा लुकेर बसेका उनले फरारकै अवस्था प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजय भएका थिए ।
२०७४ फागुन १४ गते अदालतमा हाजिर भएका उनलाई पूर्पक्षका लागि थुनामा राखिएको थियो । थुनामा रहेका उनी त्यही अनसन शुरु गरेका थिए । अनसनमा अस्वस्थ्य भएपछि २०७४ फागुन २३ गते बुद्ध एयरबाट काठमाडौ ल्याइएको थियो । टीकापुर घटना गराएको अभियोगमा उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा दायर गरिएको थियो। चौधरीले गत फागुनमा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।
प्रतिक्रिया