प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित


काठमाडौं – चिकित्सा शिक्षा विधेयकमा प्रतिपक्ष दलहरुले सदन अवरुद्ध गर्ने अडान कायमै राखेपछि प्रतिनिधिसभाको बिहीबारको बैठक सूचना टाँसेर स्थगित भएको छ।

सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै संसद बैठक स्थगित गरेका हुन् । बिहीबारका बैठक १ बजे बोलाईको थियो । अब अर्को बैठक११ गते मात्र बस्नेछ ।

सरकारले विधेयक संसदमा पेस गर्ने तयारी गरे पनि व्यापक विरोध भएपछि बुधबारको बैठकको कार्यसूचीबाट हटाइएको थियो। कार्यसूचीबाट हटाए पनि विधेयक संशोधनसहित दर्ता हुनुपर्ने मागसहित नेपाली कांग्रेससहितका प्रतिपक्ष दलहरुले विरोध गर्ने तयारी गरेका थिए।

सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएपछि कांग्रेसले संसद अवरुद्ध पर्दै आएको छ । अब यसमा राजपा र नयाँ शक्ति पनि सामेल हुने तयारीमा छन् ।

बुधबारको बैठकको सम्भावित कार्यसूचीमा राखिएको विधेयक टेबुल गर्ने प्रस्तावबाट सरकार पछाडि हटेको थियो। कांग्रेसले विधेयक फिर्ता लिनुपर्ने माग गर्दै केही दिनदेखि संसद् अवरुद्ध गर्दै आएकोमा प्रतिपक्षको अवरोधलाई ध्यान दिँदै विधेयक कार्यसूचीबाट हटाइएको थियो।