काठमाडौं – हत्या मुद्दामा जेल सजाय भोगिरहेका रेशम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएको एक वर्षपछि सांसद् पदको सपथ ग्रहण गराइएका कैलाली–१ का सांसद रेशमलाल चौधरीलाई फेरि डिल्लीबजारस्थित सदर खोर लगिएको छ ।
टीकापुर हत्याकाण्डमा हाल डिल्लीबजारस्थित सदरखोरमा पुर्पक्षका लागि जेलमा रहेका चौधरीलाई राजपा नेपालको दवावमा पद तथा गोपनियताको सपथ दिलाइएको हो । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बिहीबार सभामुख कृष्ण बहादु्र महराले चौधरीलाई पद तथा गोपनियताको सपथ दिलाएका थिए । सपथसँगै संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले चौधरीलाई सांसदको गोलो लगाइदिएका थिए ।
थारु भाषामा सपथ लिएका चौधरीलाई सपथकै लागि डिल्लीबजारस्थित सदर खोरबाट सिंहदरबार पुर्याइएको थियो । सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए भने त्यहाँ पुगेका राजपाका नेताहरुले पनि उनलाई बधाई दिँदै फूलमाला लगाइदिए ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो। सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो। घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिई विजयी हासिल गरेका थिए । तर उनले निर्वा्चित भए पनि सपथ लिन पाएका थिएनन्। गत असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए ।
प्रतिक्रिया