सपथपछि सांसद रेशम चौधरी संसद जालान् कि जेल ?

सपथपछि सांसद रेशम चौधरी संसद जालान् कि जेल ?


काठमाडौं – हत्या मुद्दामा जेल सजाय भोगिरहेका रेशम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको एक वर्षपछि सांसद् पदको सपथ ग्रहण गर्दैछन् । सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले पद तथा गोपनीयताको सपथ लिएपछि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखिएका चौधरी संसद भवन जालान् कि फेरि जेलमै ? यो चासो सर्वत्र छ ।

आज पद तथा गोपनीयताको सपथ ग्रहण गरे पनि संसद बैठकमा पनि सहभागी हुन नपाउने सभामुख कृष्णबहादुर महराले जानकारी दिए । सपथ खुवाइसकेपछि सांसद चौधरीलाई फेरि डिल्लीबजार कारागारमै लगेर राखिने छ ।सभामुख महराले भने, ‘सपथका लागि प्रहरीले लिएर आउँछ र आफैंसँग लिएर जान्छ ।’

‘रेशम चौधरीको मुद्दा कानुन अनुसार निर्वाचन आयोगले प्रमाणपत्रसहित पत्र पठाएपछि शपथ गराउनु संसदको कर्तव्य होु, सभामुख महराले भने, ‘शपथपछि चौधरी निलम्बित संसदको रूपमा जेलमै रहन्छन्। संसद बैठकमा बस्न पाउँदैनन्।’ अभियुक्त चौधरीलाई सभामुख महराले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सपथ ग्रहण गराउँदैछन् । सांसद चौधरीको सपथ ग्रहणको लागि सभामुख महरा बिहानैदेखि परामर्श तथा तयारीमा व्यस्त छन् ।

चौधरी हाल डिल्लीबजार कारागारमा छन् । सपथ लिए पनि उनी संसद भवन भने जान पाउने छैनन् । सांसद पदको सपथ खुवाइसकेपछि उनलाई पुनः जेलमै लैजाने स्रोतले बतायो । २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भए पनि उनले सपथ लिन पाएका छैनन्।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको थारु आन्दोलनमा चौधरीले अगुवाइ गरेको आरोप लागेको थियो। उक्त घटनामा एक नाबालकसहित आठ सुरक्षाकर्मीको मृत्यु भएको थियो। टीकापुर घटना गराएको अभियोगमा उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी मुद्दा दायर गरिएको थियो। चौधरीले गत फागुनमा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए।