काठमाण्डु- सरकारले ल्याएको बजेट सन्तुलित र समयसापेक्ष नभएको नेपाली कांग्रेसले टिप्पणी गरेको छ । महतले बजेटले चुनौती सामना गर्नेतर्फ सार्थक दिशा नसमातेको पनि टिप्पणी गरे ।
प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा आइतबार कांग्रेस सांसद तथा पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले बजेट समयसापेक्ष नभएकाले कार्यान्वयनमा थुप्रै आशंका रहेको बताए ।
आफू पनि अर्थमन्त्री भइसकेको र त्यसका समस्या र चुनौतीहरूबारे जानकार रहेको उल्लेख गर्दै उनले भने, ‘बजेटले चुनौतीहरूको सामना गर्नेतर्फ सहि दिशा पक्रिन सकेको छैन ।’
डा.महतले १८ खर्ब ६० अर्ब बजेट पुर्याउन लागि अर्थमन्त्री वर्षमान पुनले ९९ अर्ब आन्तरिक ऋण लिने निर्णय गरेको दाबी गरे । ‘ऋणको भार बढिरहेका बेला यति ठूलो आन्तरिक ऋण लिने निर्णय लिनु उचित होइन,’ महतले भने ।
उत्पादनाशील क्षेत्रमा खर्च नगर्ने गलत स्थानमा लगानी गर्दा राजश्व वृद्धि नहुने महतको भनाइ छ । उत्पादन र रोजगारी बढे मात्रै राजश्व वृद्धि हुने भन्दै उनले यो ऋण तिर्न नसक्ने अवस्था सृजना हुनेमा आशंका व्यक्त गरे ।
नेता महतले बजेट विनियोजन पनि गलत किसिमबाट भएको जिकिर गरे । ‘भौतिक मन्त्रालयलाई १ खर्ब ३४ अर्बबाट १ खर्ब ५० अर्ब पु¥याइयो र सहरी विकास योजनामा ६६ अर्ब ९२ अर्ब रकम निकासा गर्नु उचित होइन,’ उनले भने ।
महतले आफ्ना राम्रा कामको सुरुवातलाई अर्थतन्त्रीले उच्चस्तरीय सुधार आयोगमा पन्छाइदिएको बताए । ‘तर, त्यसको आवश्यकता नै छैन । बजेटरी सिस्टममा कहाँ समस्या छ, समस्याहरू पहिचान भइसकेका छन् । त्यसपछि आयोग किन चाहियो । त्यसको कुनै आवश्यकता नै छैन,’ उनले भने ।
सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट ल्याएको छ । जेठ १५ गते अर्थमन्त्री वर्षमान पु्नले सार्वजनिक गरेको बजेटमाथि संसदमा आइतबार छलफल सुरू भएको हो ।
प्रतिक्रिया