काठमाण्डु – सप्तकोसी नदीको बाढी उदयपुरको वेलका नगरपालिकाको बस्तीमा पसेपछि स्थानीयहरू विस्थापित भएका छन् ।
बुधबार बिहान बाँध फुटेर बाढी बेलका नगरपालिका –३, २, १, ९, ८ का बस्तीमा पसेपछि चौपाया र बालबच्चा लिएर स्थानीयले गाउँ छाडेका हुन् । नगर उपप्रमुख जिरा राईका अनुृसार सप्तकोसी नदीको बाढी गाउँ पस्दा अनुमानित ८००-९०० घरधुरी विस्थापित भएका छन् ।
बाढीमा फसेकाहरूलाई सशस्त्र प्रहरीको दुई वटा डुंगाले उद्धार प्रयास गरिरहेको छ । सशस्त्र प्रहरीलाई स्थानीयवासी, सामाजिक संघ संस्था, नेपाल प्रहरी र नेपाली सेनाले उद्धारमा सहयोग गरिरहेको छ । स्थानीय प्रशासनका अनुसार बाढी आउने पूर्व सूचना मंगलबार राति नै दिएका कारण क्षति कम भएको छ। प्रशासनल सर्वसाधारणलाई हिजो मंगलबार नै ‘हाइ एलर्ट’ गराएको थियो । प्रशासनको एलर्टपछि कतिपय सर्वसाधारण राति नै उदयपुरको रामपुर आएका थिए ।
बाढीबाट अहिलेसम्म कुनै पनि मानविय क्षति भएको सूचना नआएको प्रहरीले जनाएको छ । भौतिक संरचनामा क्षति पुगे पनि मानविय क्षति रोक्न सकेको प्रशासनको भनाइ छ । प्रशासनका अनुसार सप्तकोसीमा पानीको सतह बढेपछि आवश्यकता अनुसार ब्यारेजको ढोका नखोल्दा बाँध फुटेको हो । अहिले सप्तकोशीको जम्मा ३४ वटा ढोका खुलेका छन् । पानीको सतहअनुसार कम्तीमा पनि ४२ वटा खुल्नुपर्ने थियो ।
०४५ सालसम्म सप्तकोसी अहिले बाँध फुटेकै ठाउँबाट बग्ने गथ्र्यो । पूर्वी पहाडी भेगमा अझै निरन्तर पानी परिरहेकाले तल्लो भागमा जोखिम घटेको छैन । यसैबीच प्रदेश १ का आन्तरिक मामला मत्री केदार कार्की, भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की, सुनसरी, मोरङ, उदयपुर र सप्तरीका प्रमुख जिल्ला अधिकारीहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू बाढी प्रभावित क्षेत्रको अनुगमनमा पुगेका छन् ।
प्रतिक्रिया