सप्तरी प्रिमियर लिगको उपाधिसँगै खडकले पाए तीन लाख

सप्तरी प्रिमियर लिगको उपाधिसँगै खडकले पाए तीन लाख


सप्तरी – राजविराजमा आज सम्पन्न तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको उपाधि बजाज खडक वारियर्सले जितेको छ ।

राजविराज रङ्गशालामा सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा विवेक यादव कप्तानीको खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राइडर्सलाई एक रनले पराजित गरी उपाधि जितेको हो । उपाधिसँगै खडक वारियर्सले रु तीन लाख हात पारेको छ भने रुपनी राईडर्सले रु एक लाख ५० हजार प्राप्त गरेको छ ।

बजाज खडक वारियर्सले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राइडर्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १४५ रनमा सीमित भयो । रुपनी राइडर्सको लागि निरज मुखियाले अविजित ५२ रन बनाए । खडकको बलिङ्गमा अनिल खरेल र गोमानन्द अमात्यले समान ३ विकेट लिए भने भुलावन सहनीले २ र पवन सर्राफले १ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ्ग रोजेको खडकले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १४६ रन बनाएको थियो । खडकका लागि ओपनर निरज यादवले सर्वाधिक ५१ रन बनाए भने अर्का ओपनर अनिल शाहले २९ रन बनाए । कप्तान विवेक यादवले २२ रन तथा भुलावन सहनीले अविजित १३ रन जोडे । रुपनीको बलिङ्गमा अनिल यादवले सर्वाधिक ३ विकेट लिए । सुनिल धमला र कुशल भुर्तेलले समान १ विकेट लिए।

प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान चुनिएका खडक वारियर्सका अनिलकुमार शाह नै उत्कृष्ट खेलाडीसमेत घोषित हुनुभयो । उनले उत्कृष्ट खेलाडीबापत २५ हजार र उत्कृस्ट ब्याट्सम्यानबापत १५ हजार प्राप्त गरे । प्रतियोगितामा अनिलले २ वटा शतक र एउटा अर्धशतक प्रहार गर्दै पाँच खेलमा कुल ३३४ रन बनाएका थिए ।

प्रतियोगिताको उत्कृष्ट बलर चुनिनु भएका बिशाल सुश्लिंगले पनि रु १५ हजार प्राप्त गर्नुभयो । विशालले प्रतियोगितामा चार खेलमा ९ विकेट लिएका थिए । विजेता खेलाडीलाई राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहलगायतले मेडल, ट्रफी, कप र नगद पुरस्कार वितरण गरे ।