ओलीका सारथि

ओलीका सारथि


काठमाडौं- मुलुकलाई भ्रष्टाचारमुक्त बनाई आर्थिक समृद्धिको दिशामा लैजाने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धतालाई मूर्तरूप दिन उनका सारथिको भूमिका महत्वपूर्ण रहन्छ। ओलीलाई उनको ‘किचन क्याबिनेट’ मा रहेर सहयोग गर्ने र सुझाव दिन राजनीतिक, आर्थिक, प्रशासनिक र सञ्चार क्षेत्रका हर्ताकर्ता सक्रिय छन्।

ओलीले सल्लाहकार तथा सहयोगी टिम राख्दा पनि अत्यधिक तौलेर मात्रै राख्ने गरेको निकट सहयोगीले बताएका छन्। आफूलाई ओली निकट ठान्ने कतिपय नेतालाई समेत अहिले उनले भेट दिनसमेत छाडेका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो सल्लाहकार टिममा तीनजना मात्रै नियुक्त गरेका छन्। मुख्य सल्लाहकारमा विष्णु रिमाल, प्रेस सल्लाहकारमा डा.कुन्दन अर्याल तथा जनसम्पर्क सल्लाहकारमा अच्युत मैनाली नियुक्त भइसकेका छन्। उनले सुरक्षा तथा परराष्ट्र सल्लाहकार र विकास सल्लाहकार नियुक्त गर्न बाँकी छ।

प्रधानमन्त्री ओलीले सल्लाहकार टिम र स्वकीय सचिवालयमा ९१ जनासम्म राख्न पाउने व्यवस्थामा कटौती गरिसकेका छन्। ओलीले दुवै टिममा गरी बढीमा ५० जनासम्म राख्न पाउने निर्णय गराएका छन्। संघीयता कार्यान्वयन राजनीतिक विषय तथा प्रशासनिक पुनर्संरचनाको प्राविधिक विषय समायोजन गरी अघि बढ्न ओलीलाई सल्लाहकारको सुझाव बढी महत्वपूर्ण हुने राजनीतिक विश्लेषकको तर्क छ। राजनीतिलाई स्वच्छ बनाउन, इमान र नैतिकता वृद्धि गर्न पनि सल्लाहकारको महत्वपूर्ण भूमिका हुने गरेको विश्लेषकको तर्क छ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसभामुख सुवास नेम्बाङ, रक्षामन्त्री ईश्वर पोखरेल, एमाले सचिव विष्णु पौडेल, प्रधानमन्त्रीकै प्रमुख सल्लाहकार विष्णु रिमालबाट राजनीतिक सुझाव लिने गरेका छन्। ओलीलाई सुझाव दिनेमा नेम्बाङ पनि अग्रपंक्तिमै पर्छन्। यसका लागि उनी प्रायः बालुवाटारमा नै रहने गरेका छन्।

राजनीतिक सुझबुझयुक्त नेता मानिने भएका सचिव प्रदीप ज्ञवालीसँग ओली उनमा राजनीतिक विश्लेषणमा बढी भर पर्छन्। राजनीति, योजना र अर्थशास्त्रमा दक्खल राख्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको पनि ओलीले निकै भर गर्ने नेतामा पर्छन्। तर अहिले पोखरेल ५ नम्बर प्रदेशमा बढी समय दिनुपर्ने भएकाले उनले नियमित सघाउन पाएका छैनन्।

ईश्वर पोखरेल पनि ओलीलाई सघाउन नियमित बालुवाटारमा नै जाने गरेका छन्। विष्णु पौडेल पनि ओली निकट रहेर सघाइरहेका छन्। उनीहरू राजनीतिक रूपमा प्रधानमन्त्रीलाई सुझाव दिने पहिलो घेरामा पर्छन्। प्रधानमन्त्री ओली यतिखेर सबैभन्दा बढी भर अर्थमन्त्री डा.युवराज खतिवडामाथि नै परेका छन्। मुलुकको बिगँ्रदो आर्थिक अवस्था खतिवडाले सुधार्न सक्ने विश्वास ओलीको छ। त्यसैले पनि उनले आफू निकटका धेरै नेताले अर्थमन्त्री ताक्दाताक्दै पनि पार्टी्भित्रको आलोचना खेपेरै खतिवडालाई अर्थमन्त्री बनाएका हुन्।

आर्थिक समृद्धिलाई प्रमुख एजेन्डा बनाएका ओलीले आफ्नो एजेन्डा सफल पार्न अर्थमन्त्री खतिवडा सक्षम हुने विश्वास छ। त्यसैले ओलीले खतिवडाका धेरै कुरा सुन्ने गरेको बताइन्छ।

ओलीले पत्याएका अर्का युवा नेता हुन्, डा.राजन भट्टराई। देशविदेशको राजनीतिक, परराष्ट्र तथा प्रशासनिक विषयमा समेत दक्खल राख्ने भट्टराईबाट ओलीले सुझाव लिने गरेका छन्। ओली निकट स्रोतका अनुसार भट्टराईलाई प्रधानमन्त्रीले सुरक्षा तथा परराष्ट्र सल्लाहकारको रूपमा नियुक्ति गर्ने तयारी गरेका छन्। यसैगरी प्रधानमन्त्रीलाई सघाउने पहिलो घेरामा सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा अग्रपंक्तिमै छन्।

प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाह लिने दोस्रो घेरामा माधवकुमार नेपाल, भीम रावल, वामदेव गौतम पर्छन्। नेपाललाई बालुवाटार बोलाएर ओलीले नियमितजसो नै छलफल गर्छन् भने रावल र गौतमस“ग पनि बेलाबखत सुझाव लिने गरेको बताइन्छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश महर्जनले प्रधानमन्त्रीलाई अन्य पक्षस“ग भेटघाटको चाँजो मिलाउँछन्। प्रेस विज्ञको रूपमा पत्रकार रामशरण बजागाईंले ओलीको प्रेस व्यवस्थापनदेखि अन्य राजनीतिक भेटघाटको समेत चाँजोपाजो मिलाउने गरेका छन्। बजगाईंलाई ओलीले सचिवालयका अन्य महत्वपूर्ण कामको समेत जिम्मा दिएका छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीलाई महत्वपूर्ण सूचना उपलब्ध गराउने र प्रेसस“ग डिल गर्ने काम गर्छन्। प्रेस सल्लाहकारमा डा.कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकार अच्युत मैनाली भर्खरै नियुक्त भएका छन्।

ओलीलाई प्रशासनिक सुझाव दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेमकुमार राई अग्रपंक्तिमा छन्। स्वच्छ छविका सचिव राईसँग ओलीले प्रशासनिक सुधारका लागि सल्लाह लिने गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसचिव दिनेशकुमार थपलिया पनि सल्लाह दिने सचिवमा पर्छन्। प्रधानमन्त्रीको मुख्य प्रशासनिक सल्लाहकार मुख्यसचिव हुने भएकाले ओलीले प्रशासन सुधारका बारेमा मुख्यसचिव लोकदर्शन रेग्मीस“ग पनि सल्लाह लिने गरेका छन्।

ओलीले प्रमुख सल्लाहकार रिमालमार्फत नै मुख्यसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तथा अन्य मन्त्रालयका सचिवस“ग प्रशासन सुधारका बारेमा फिडब्याक लिने गरेका छन्। ओलीको निजी सचिवालयमा खटिएका उपसचिव युवराज दाहाल पनि विश्वास पात्र भित्रै पर्छन्। ओलीले प्रमुख सल्लाहकार रिमालमार्फत नै प्रशासकहरूलाई सुधारका लागि लाग्न निर्देशन दिँदै आएका छन्।

मन्त्रीलाई नियमित बोलावट

ओलीले मन्त्रीहरूलाई नियमित रूपमा नै बालुवाटारमा बोलाएर कामको परिणामबारे छुट्टाछुट्टै जानकारी लिने गरेका छन्। ओलीले परराष्ट्रमन्त्री ज्ञवाली, अर्थमन्त्री खतिवडा र रक्षामन्त्री पोखरेललाई बढी विश्वास गर्छन्। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्ट यसअघि मन्त्री हुँदा राम्रो काम गरेकाले ओलीले उनीहरूका कुरा पनि राम्रैसँग सुन्छन्।

माओवादी अध्यक्ष दाहालसँग नियमित सल्लाह

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नियमित छलफल गर्छन्। राष्ट्रिय मुद्दामा निर्णय गर्नुअघि उनले दाहालसँग छलफल गर्ने गरेको ओली निकट स्रोतले जानकारी दिएको छ।

यसैगरी माओवादी नेताहरू जनार्दन शर्मा एवं वन तथा भूसंरक्षणमन्त्री शक्ति बस्नेत, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव बालुवाटारमा गएर प्रधानमन्त्रीलाई नियमित ब्रिफिङ गर्ने मन्त्रीमा पर्छन्।

‘सल्लाहकार एक्सपोर्ट र गतिशील हुनुपर्छ’
(राजनीतिशास्त्रका प्रा.डा. लोकराज बराल

प्रधानमन्त्रीलाई सल्लाह दिने व्यक्ति सम्बन्धित विषयको ज्ञाता र गतिशील हुन जरुरी छ। विगतमा सल्लाहकार पदलाई जागिर खाने माध्यम मात्रै बनाइयो। त्यसले पनि गम्भीर खालका समस्या ल्याउने गरेको हो। अब त्यस्तो गरिनु हुँदैन। दक्षता, योग्यता र क्षमताका आधारमा सल्लाहकार छान्नु बुद्धिमता हुन्छ। त्यसो गर्न सकिए मात्रै लक्ष्यअनुसार काम गर्न सहज हुन्छ। प्रधानमन्त्रीलाई अन्य विषयमा सहयोग गर्ने र सुझाव दिने व्यक्तिहरू प्नि सुझबुझयुक्त हुन जरुरी छ। सल्लाह दिने व्यक्ति इमानदार र नैतिकवान् भए त्यसले राजनीतिलाई समेत सफा बनाउन भूमिका खेल्छ।

सल्लाहकार टिममा स्वच्छ छविको व्यक्ति हुनुपर्छ

बाबुराम आचार्य
(तत्कालीन सुशील कोइराला सरकारका प्रशासनिक सल्लाहकार

प्रधानमन्त्रीको सल्लाहकार टिममा सकेसम्म स्वच्छ छविको, इमानदार, भिजन भएको र निडर व्यक्ति हुनुपर्छ। सल्लाहकारजस्तो पद हचुवाको भरमा किमार्थ राख्न हुँदैन अनि यसलाई जागिर दिने पद मात्रै बनाइयो भने त्यसले प्रधानमन्त्रीको गरिमा नै घटाउन सक्छ। प्रधानमन्त्रीहरूले सल्लाहकार राख्दा सम्बन्धित विषयको विज्ञ राख्नुपर्छ। सल्लाहकारको नियुक्ति हुनासाथ त्यो पदमा आउने व्यक्तिबारे आमजनतामा सकारात्मक छाप देखिनुपर्छ। अन्नपूर्णपाेस्ट्मा खबर छ ।