काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हरेक प्रहरी कर्मचारीले आफूले गरेको कामप्रति राष्ट्र, समाज, परिवार र आफैँले गर्व महसुस गर्न सक्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बिहीबार आयोजत कार्यक्रममा बोल्दै महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन् ।
महानिरीक्षक खनालले संगठनको हालको रणनीति कस्तो छ र प्रहरीले कसरी काम गर्ने भन्ने विषयमा छलफल गर्न तथा राजधानीको सुरक्षा व्यवस्थालाई नमुना रुपमा विकास गरी थप प्रतिफल प्राप्त गर्न प्रहरी अधिकृत तथा जवानहरुलाईे निर्देशन दिए ।
प्रहरी महानिरीक्षक खनालले हरेक प्रहरी कर्मचारीले संगठनको सोच र नागरिकको अपेक्षा अनुसार काम गर्नुपर्ने चर्चा गर्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरीकसँग समन्वय गरेर काम गर्नुपर्ने बताए ।
राजधानीमा आउन सक्ने विषम परिस्थितलाई कुनैपनि त्रुटी हुन नदिई उचित तवरले समाधान गर्नुपर्ने भएकोले कानुन कार्यान्वयनमा कठोरता र विवेकपूर्ण निर्ममता अपनाई उच्च मनोबलका साथ काम गर्न उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
प्रहरीको हरेक गतिविधिले समाजमा सन्देश दिने र एउटा प्रहरीले गरेको नराम्रो कामले सिंगो संगठनमा आँच आउने हुँदा बदमासी कार्य गर्न प्रहरीलाई कुनै छुट नहुने चर्चा गर्दै उनले भने, ‘गलत नियत गर्नेमाथि कुनैपनि छुट छैन, त्यस्ता व्यक्ति प्रहरी संगठनमा अटाउन पनि सक्दैनन् ।’
प्रहरीको बर्दी लगाएर राष्ट्र र नागरिकको सुरक्षा गरी देशको सेवा गर्न पाउने अवसर प्राप्त भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘यो भन्दा ठूलो सेवा अरु कुनै छैन्, हामीले गर्व गर्ने ठाउँमा जागिर खाएका छौँ, यसमै आन्नद लिनुस् ।’
प्रतिक्रिया