युएईले नेपाललाई दियो चुनौतीपूर्ण लक्ष्य

युएईले नेपाललाई दियो चुनौतीपूर्ण लक्ष्य


काठमाण्डु – आइसीसी महिला टि-२० विश्वकप एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । आइतबार दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको हो । यूएईका लागि चमानी सेनेवीरत्न र तीर्था सतिशले विष्फोटिङ ब्याटिङ गर्न सफल भए ।

चमानीले नेपालविरुद्ध अर्धशतक प्रहार गरेकी छन् । उनले ३६ बलको सामना गर्दै ५२ रन बनाएकी हुन् । त्यस्तै, तीर्थाले ४७ रन बनाउँदै आउट भइन् भने कविषा इगोदागेले २२ रन जोडिन् । नेपालका लागि कविना कुँवरले २ विकेट लिँदा सिता रानामगर, सवनम राई र संगिता राइको नाममा समान एकएक विकेट रह्यो ।

यो अन्तिम तथा निर्णायक खेलको विजेता शीर्ष स्थानमा रहँदै आगामी वर्ष हुने टि-२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाउँनेछ । आइतबार नेपाल र यूएई दुबै टोली खेल जित्दै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छन् । यूएई ४ खेलमा ४ जितका साथ ८ अंक बनाएर शीर्ष स्थानमा छ । नेपाल ४ खेलमा ३ जित, १ हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । नेपाललाई जित मात्रले पुग्दैन । रन रेटमा पनि ध्यान दिनुपर्ने हुन्छ ।