काठमाडौं – प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । डा. गोविन्द केसीको माग र गिरिजा–सुशील कोइराला अस्पतालको माग उठाएर काँग्रेसले सदन अवरुद्ध गरेको हो ।
सोमबारको राष्ट्रिय सभा बैठक सुरु हुना साथ काँग्रेसका सांसदहरूले ढ्यापढ्याप गरी समय मागेका थिए । त्यसपश्चात उक्त समयमा बोल्दै काँग्रेस सांसद सरिता प्रसाईँले भनिन्, ‘सरकारले जनता र प्रतिपक्षसँग निहुँ मात्र खोजेको छ ।
यस्तै निहुँ खोज्ने हो भने प्रतिपक्ष सडकमा जान तयार छ । ’यो सरकारले खोजेको के हो? गोविन्द केसीसँग गरेको सम्झौता पालना गर्न सकेको छैन। प्रतिपक्ष सडकमा जाओस्, निहुँ खोजोस् भन्ने चाहेको हो भने । ’ नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र प्रसाद पाण्डेले पनि दुई अस्पतालको बारेमा मात्रै निर्णय किन नगरिएको भनी प्रश्न गरे।
’स्वास्थ्य मन्त्रालयले ११ वटा अस्पतालको नाम पठाएको थियो। ९ वटाको भयो, २ वटाको बारेमा किन निर्णय भएन? किन गरिएन? के कारणले गरिएन? अब दुई वटा अस्पताल कहाँ रहन्छन् त?’, पाण्डेले भने, ’संघीय सरकार मातहत रहनुपर्छ भनी निर्णय गर्नुपर्छ भन्ने हाम्रो माग हो। प्रष्ट निर्णय नभएसम्म सदनको कारबाही अघि नबढाइयोस्।’
कांग्रेसले जवाफ माग गरेपछि अध्यक्ष तिमल्सिनाले स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवलाई बोल्न समय दिएका थिए।यादवले गिरिजा र सुशील कोइरालाको नाममा रहेको कुनै अस्पताल खारेज नभएको जानकारी सदनलाई गराएका थिए। उनले ९ वटा अस्पतालको विकास समितिका विषयमा मात्र निर्णय भएको जनाए।
राज्यमन्त्री यादवले सरकारको तर्फबाट स्पष्टीकरण दिए पनि कांग्रेस सांसदहरुले उभिएर विरोध गरिरहे। अध्यक्षले आसन ग्रहणका लागि पटक-पटकको आग्रहपछि पनि कांग्रेस सांसदहरु उभिएर विरोध जनाइरहेपछि बैठक आधा घण्टाको लागि स्थगित भएको छ।
प्रतिक्रिया