प्रवक्ता शर्माको आरोप : वायुपंखी घोडाको नारा ,बयलगाडाको पारा

प्रवक्ता शर्माको आरोप : वायुपंखी घोडाको नारा ,बयलगाडाको पारा


रुकुम – नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अहिलेको सरकार संघीयताप्रति गम्भीर नभएको आरोप लगाउका छन् ।

पूर्वी रुकुमको सदरमुकाम सिस्ने गाउँपालिका-३ पोखरामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरुले यो कुराको पुष्टि गरेको बताए ।

सरकारले प्रस्तुत गरेको बजेट र निर्णयमा केन्द्रीयता लादिएको भन्दै मुख्य मन्त्रीहरुले अभिव्यक्ति दिइरहेको उनको भनाइ थियो । “संघीयता शक्तिको अधिकतम विन्यास हो”, उनले भने, “तर प्रधानमन्त्रीकै पार्टीका मन्त्रीहरु अहिलेको बजेट र सरकारका निर्णयमा केन्द्रीयता लादिएको अभिव्यक्ति दिइरहेका छन् । ”

सरकारले नारा वायुपंखी घोडाको दिने तर कामको पारा भने बयलगाडाको रहेको टिप्पणी गर्दै प्रवक्ता शर्माले सरकारलाई काँग्रेसले रचनात्मक र सिर्जनात्मक प्रतिपक्षको भूमिकामा सहयोग गरिरहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको भूमिकालाई कमजोर देख्ने र बहुमतको दम्भले जे गरे पनि जे बोले पनि हुने मनःस्थिति पालिरहेमा काँग्रेस कडारुपमा प्रस्तुत हुनेसमेत उनले बताए ।

फरक प्रसंगमा प्रवक्ता शर्माले नेपालका सबै कम्युनिष्ट पार्टीलाई संसदीय प्रक्रियाको बाटोमा आउन आग्रह समेत गरे । उनले पाटीभित्र संरचनाहरुको पूर्णता नहुनु, नाकाबन्दीताका खुलेर बोल्न नसक्नु पनि काँग्रेस हारको कारण रहेको चर्चा समेत गरे ।