बरहथवामा आन्दोलनरत पक्षसँग भएको ११ बुँदे सहमतिमा के छ ?

बरहथवामा आन्दोलनरत पक्षसँग भएको ११ बुँदे सहमतिमा के छ ?


काठमाण्डु- सर्लाहीको बरहथवामा शुक्रबार भएको घटनामा आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो ।

यससँगै पीडित परिवार र प्रदर्शनकारीहरुले गत शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव उठाउन सहमति जनाएका छन्। मृतक साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ।

जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफलपछि अब बरहथवास्थित नगर अस्पताल यसअघि नगर कार्यपालिकाको निर्णयबमोजिम मधेश सरकारलाई हस्तान्तरण गर्ने, स्तरोन्नति गरेर ५० शैयाको बनाउने, सो अस्पताललाई प्रहरीको गोली लागेर मृत्यु भएका जय श‌कर साहको नाममा नामाकरण गर्ने र नगरपालिकाले मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने सहमति भएको छ।

मेयर कटुवालले अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय उल्ट्याउन कार्यपालिकाको बैठक बोलाएको विरोधमा प्रदर्शन हुँदा भएको धरपकड र प्रहरीको गोली लागेर शुक्रबार बरहथवा नगरपालिका(६ का ३० वर्षीय साहको मृत्यु भएको थियो।

त्यसपछि झन् उग्र बनेका प्रदर्शनकारीले साहको शव सडकमै राखेर प्रदर्शन थालेका थिए। शनिबार दिनभर प्रदर्शन रोक्न प्रयास भएपनि प्रशासनले आक्रोशित भीडलाई शान्त पार्न सकेको थिएन। शुक्रबार बेलुका कर्फ्यु लगाएको प्रशासनले शनिबार खुला गरे पनि आइतबार फेरि कर्फ्यु जारी गर्न बाध्य भएको थियो।

यस्तो छ ११ बुँदे सहमति

१. आन्दोलनको क्रममा असमायिक निधन भएका युवा व्यवसायी जयशंकरप्रति श्रद्धाञ्जली र परिवारप्रति सम्वेदना व्यक्त
२.गृहमन्त्रालयबाट गठित छानबिन समितिलाई स्वतन्त्र निष्पक्ष रुपमा घटनाको छानविन गर्न सहयोग गर्ने
३.मृतक परिवारको एकजनालाई बरहथवा नगरपालिकाले रोजगारी उपलब्ध गराउने
४. प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति पश्चात कानुन बमोजिम प्रक्रिया पूरा गरी नगर अस्पताल मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, अस्पताल संचालन सम्बन्धमा बरहथवा नगरप्रमुख र मधेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सहकार्य एवं छलफलबाट टुंग्याउने
५. मृतकको शालिक अस्पताल प्रांगण वा व्यवसायीले चाहेको ठाउँमा स्थापना गर्ने
६.पाँचदलीय गठबन्धनले सबै आन्दोलनका कार्यक्रम स्थगित गर्ने र आगामी दिनमा नगरपालिकालाई शान्तिपूर्वक सहकार्य र सहयोग गर्ने
७. मृतकको नामबाट प्रक्रिया पर्याइ प्रादेशिक अस्पताल बरहथवाको नामाकरण गर्ने
८. दोषी प्रहरी कर्मचारीलाई छानविन गरी कारबाहीको प्रक्रिया अघि बढाउने
९. मृतकलाई सहिद घोषणाको प्रक्रिया अघि बढाउने
१०. आन्दोलनमा भएको क्षति सम्बन्धित निकायबाट भराउन जिल्ला प्रशासनबाट सिफारिस गराउने
११. मृतकको शवलाई तत्काल पोस्टमार्टम गरी व्यवस्थापन गर्ने