सर्वेन्द्र खनालले छाडे एमाले

सर्वेन्द्र खनालले छाडे एमाले


काठमाण्डु- नेपाल प्रहरीका पूर्वप्रमुख रहेका सर्वेन्द्र खनालले एमाले छाडेका छन् । खनालले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कुनै दलसँग आवद्ध नरहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन । म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छ । म देश र समाज हितका लागि आफ्नो समय परिस्थिति अनुकुल सधैँ सक्दो कार्यहरू गरिरहने छु ।’

खनाललाई ५ असोज २०७९ मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका थिए ।

खनालले २६औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए ।

खनालले २०७४ सालमा भएको चुनावमा काठमाडौं क्षेत्र नं। ६ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाए तर पराजित भए ।
पछि तनहुँमा भएको उपनिर्वाचनमा पनि खनालले उम्मेदवारी दिएका थिए ।

खनालको यो घोषणा एमालेले भीम रावललाई पार्टीबाट निष्कासन गरेपछि आएको हो । नेता रावललाई एमालेले पुस १० गते पार्टी सदस्य नरहने गरी निष्कासन गरेको छ । पार्टीबाट निष्कासित भएपछि रावल ‘मातृभूमि जागरण अभियान’ घोषणा गर्दै देश दौडाहमा छन् ।

खनाल पनि रावलकै अभियानमा जोडिने चर्चा चलेको छ । यसअघि रावलले पनि पूर्व सुरक्षा प्रमुखहरू जोडिने संकेत दिएका थिए ।