काठमाण्डु- दिवङ्गत पितृका नाममा शनिबार बिहानै विभिन्न धार्मिक स्थलमा भक्तजनहरुले शतबीज छरेका छन् । शुक्रबार साँझ पितृको नाममा बत्ती बालेका उनीहरूले आज बिहान दीप नदिमा सेलाएर शतबीज छरेका हुन् ।
रातभर जाग्राम बसेर मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान दीप सेलाएर शतबीज छरिन्छ। यसो गरेमा दिवङ्गत पितृहरुले शान्ति पाउने धार्मिक विश्वास छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपति आउने गर्छन् ।
यो पर्व विशेषगरी पितृहरूको उद्धारको निम्ति उनीहरूको सम्झनामा मनाइन्छ । नेपालीमा ‘शतम’ को अर्थ सय र ‘बीज’को अर्थ बीउ हुन्छ ।
यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिन्छ । तर पनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिइने गरेको पाइन्छ ।
यसैगरी शतबीजको मिश्रणमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला आदि फलका साथै विभिन्न किसिमका फूलहरू पनि हुने गर्दछन् । आज श्रद्धालु भक्तजनहरुको बिहानैदेखि पशुपति क्षेत्रमा भीडभाड बढेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार रातिदेखि बत्ती बाल्ने ठाउँ व्यवस्थापन गर्न देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको थियो ।
शतबीज छरिसकेपछि पशुपति क्षेत्रमा श्रीपशुपतिनाथको कवच, मुकुट, नागमणि, एकमुखे रुद्राक्ष, दर्शन गर्ने व्यवस्था मिलाइएको छ । सुरक्षा निकाय एवं कोषका कर्मचारीको सहयोगमा यी सामग्री दर्शनको व्यवस्था शनिबार बिहान मिलाइएको छ ।
बत्ती बाल्न एवं शतबीज छर्न आउने भक्तजनका लागि तिलगङ्गा र भण्डारखालमा सवारी पार्किङको व्यवस्था मिलाइएको छ । पशुपतिनाथको मुख्य क्षेत्र बाहिर विभिन्न सङ्घसंस्थाले स्वास्थ्य शिविर खडा गरेका छन् ।
प्रतिक्रिया