सत्ता सम्हालेसँगै मोदीद्वारा विदेश मन्त्रालयमा व्यापक फेरबदलको तयारी

सत्ता सम्हालेसँगै मोदीद्वारा विदेश मन्त्रालयमा व्यापक फेरबदलको तयारी

नेपालमा नयाँ राजदूत आउने सम्भावना


काठमाण्डु–भारतको प्रधानमन्त्रीमा तेस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश मन्त्रालयमा व्यापक फेरबदलको तयारी गरेका छन् ।

मोदीले आफ्नो तेस्रो कार्यकालको सुरुमै विदेश मन्त्रालयमा हेरफेर गरेर गर्ने संकेत गरेका छन् ।

नयाँ विदेश सचिव र अमेरिकामा रिक्त दुई कुटनीतिक नियोगमा नियुक्ति गर्नु भारतीय जनता पार्टी नेतृत्वको नेशनल डेमोक्रेटिकद एलायन्स (इनडीए)ले आफ्नो विदेश नीतिको पहिलो प्राथमिकता रहने जनाएको छ ।

गत जनवरीमा अमेरिकाका लागि भारतीय राजदूत तरनजित सन्धुले अवकाश पाएपछि सो पद अहिले खाली छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि भारतको स्थायी प्रतिनिधिको पद पनि खाली छ । भारतको नयाँ सरकारले त्यहाँ नयाँ नियुक्ति गर्न लागेको छ ।

भारतीय विदेश मन्त्रालयका सचिव विनय क्वात्रालाई अमेरिकाको राजदूत बनाएर नयाँ सरकारले पठाउन लागेको छ । गत मार्चमा क्वात्राको म्याद ६ महिनाका लागि थपिएको थियो । नेपालका लागि भारतको राजदूत समेत रहिसकेका क्वात्रा नेपालबाट फर्किएपछि सचिव बनेका थिए ।

अहिले उनलाई अमेरिकामा राजदूतको रूपमा पठाउन लागिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मोदी सरकारले भारतको विदेश सचिवमा राष्ट्रिय सुरक्षा परिषद्का उप सल्लाहकार विक्रम मिश्रीलाई नियुक्त गर्दैछ । मिश्री भारतीय विदेश सेवामा १९८९ मा प्रवेश गरेका थिए । उनले नरेन्द्र मोदीसहित तीन जना प्रधानमन्त्रीसँग काम गरिसकेका छन् । सन् २०२२ मा राष्ट्रिय सुरक्षा परिषदमा नियुक्त हुनुअघि उनी चीनका राजदूत थिए ।

प्रधानमन्त्री मोदीको विशेष पहलमा नै उनलाई विदेश सचिव बनाउन लागिएको हो । चीनमा प्राप्त गरेको विशेषज्ञताका आधारमा उनलाई विदेश सचिव बनाउन लागिएको हो ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि भारतको स्थायी प्रतिनिधिमा नविन श्रीवास्तवलाई पठाउने तयारी छ । श्रीवास्तव अहिले नेपालका लागि भारतीय राजदूत हुन् । उनी फिर्ता भएपछि नेपालमा नयाँ राजदूत तोकिने छ ।

मोदीले राष्ट्रिय सुरक्षा परिषद्को उपसल्लाहकारमा फ्रान्सका लागि भारतीय राजदूत जावेद अशरफलाई ल्याउने तयारीमा छन् । उनी मनमोहन सिंह र मोदी दुवैको नेतृत्वमा प्रधानमन्त्रीको कार्यालयमा सहसचिवको रूपमा काम गरिसकेका छन् ।