काठमाण्डु-साउदी अरबले एक वर्ष भित्र १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड दिएको छ ।
शनिबार एक यमनी नागरिकलाई लागूऔषध तस्करीको आरोपमा दक्षिण–पश्चिमी क्षेत्र नजरानमा मृत्युदण्ड दिइएको थियो । योसँगै यस वर्ष साउदीमा मृत्युदण्डको सजाय पाउने विदेशीको कुल संख्या १०१ पुगेको छ । यो संख्या विगत तीन वर्षको तुलनामा झण्डै तीन गुणा बढी हो । सन् २०२३ र २०२२ मा ३४ विदेशीलाई मृत्युदण्ड दिइएको थियो ।
युरोपेली साउदी अर्गनाइजेसन फर ह्युमन राइट्स (इएसओएचआर) का कानूनी निर्देशक ताहा अल–हज्जीले साउदी अरेबियाले एक वर्षमा यति धेरै विदेशीहरूलाई मृत्युदण्ड दिएको यो पहिलो पटक भएको बताए ।
सन् २०२४ मा साउदी अरबमा मृत्युदण्डको सजाय पाउने विदेशी नागरिकमा पाकिस्तान, यमन, सिरिया, नाइजेरिया, इजिप्ट, जोर्डन र इथियोपियाका नागरिक छन् ।
आफ्नो कठोर कानूनलाई लिएर साउदी अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्दै आएको छ । यस वर्ष मृत्युदण्ड दिइएका विदेशीमध्ये पाकिस्तानका २१, यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, इजिप्टका नौ, जोर्डनका आठ र इथियोपियाका सात जना छन् ।
त्यस्तै सुडान, भारत र अफगानिस्तानबाट तीन–तीन र श्रीलङ्का, इरिट्रिया र फिलिपिन्सबाट एक–एक जना छन् । अन्तराष्ट्रिय मानवाधिकार संस्था एमनेस्टी इन्टरनेशनलका अनुसार वर्ष २०२३ मा सऊदी अरबले चीन र ईरानपछि सबैभन्दा बढी मृत्युदण्ड दिने देश बनेको छ ।
सऊदी प्रेस एजेन्सीको तथ्यांकअनुसार २०२४ को पहलो ९ महिनामा कम्तिमा २०० जनालाई मृत्युदण्ड दिइएको छ । यो पछिल्लो तीन दशकमा एक वर्षको अन्तरालमा मृत्युदण्डको संख्या धेरै हो ।
प्रतिक्रिया