सभापति देउवाले भने – माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन बास्तोलाको महत्वपूर्ण योगदान

सभापति देउवाले भने – माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन बास्तोलाको महत्वपूर्ण योगदान


काठमाडौं – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्वर्गीय नेता चक्रप्रसाद बास्तोलाले महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

सभापति देउवाले स्वर्गीय नेता बास्तोलालाई राष्ट्रप्रति समर्पित नेताको रुपमा समेत चित्रण गरेका हुन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता बास्तोलाको १३ औं पुण्यतिथिमा आयोजित शोक सभामा बोल्दै उनले नेपालको राजनीति, समाजसेवा र कूटनीतिक क्षेत्रका बास्तोलाले देखाएको बाटोबाटै पार्टीलाई अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेता बास्तोलाले नेपालको राजनीति, कूटनीति र समाजसेवामा दिएको योगदानको चर्चा गरे। उनले नेता बास्तोलालाई अदुभूत क्षमतावान भएका नेताको रुपमा पनि स्मरण गराए।

मस्तिष्क घातका कारण थलिएका नेता बास्तोलाको गत असोज २७ गते शनिबार ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा निधन भएको थियो। बास्तोलाले परराष्ट्रमन्त्री र भारतका लागि नेपाली राजदुतको भूमिका पनि निर्वाह गरेका थिए।