काठमाण्डु – आईएमई ग्रूप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पूरा गर्न काठमाण्डु टेक्निकल स्कूल सञ्चालनमा ल्याएका छन् ।
मंगलबार काठमाण्डुको धुम्बाराहीस्थित काठमाण्डु टेक्निकल स्कूलको प्राङ्गणमा आयोजित विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले स्कूलको शुभारम्भ गरे ।
स्कूलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङ लगायत ३ दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिमहरू सञ्चालन गर्नेछ ।
स्कूलले आगामी १ दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेसनलहरू उत्पादन गर्ने लक्ष्य लिएको छ ।
अढाइ दशकको व्यावसायिक यात्रामा आईएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत्, म्यानुफ्याक्चरिङ लगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरू सञ्चालन गरिसकेको छ ।
आईएमई ग्रूप अन्तर्गतका कम्पनीमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि ग्रूपले सहयोग गरेको छ ।
आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरीबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताए । उनले प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको बताए ।
उनले सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताए । स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने मन्त्री भण्डारीले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा आईएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाण्डु टेक्निकल स्कूलको औपचारिक सञ्चालनसँगै अब आईएमई ग्रूप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए ।
उनले स्कूलले थप हजारौ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,’ उनले भने, ‘हामीले आगामी १ दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरू उत्पादन गर्ने लक्ष्य लिएका हौं । यसका लागि यस स्कूलले ३ दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरूमा तालिम सञ्चालन गर्नेछ,’ उनले भने ।
सरकारले पनि प्राविधिक स्कूल तथा तालिम केन्द्रको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उनले बताए । अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौति बेरोजगारी तथा युवा शक्तिको पलायन रहेको बताउँदै अध्यक्ष ढकालले सीप विकास नै यसको समाधान रहेको बताए ।
‘स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ । अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ । यस्ता कुरामा हस्तक्षेप गरी युवाहरूलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।
काठमाण्डु टेक्निकल स्कूल (केटीएस) का अध्यक्ष मनोज पौडेलले आगामी १० वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तिमा मंगलबार उद्घाटन गरिएको स्कूलले सहयोग पुग्ने बताए । उनले केटीएसले युवाहरूलाई विश्व स्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको समेत बताए ।
‘स्कूलले केवल विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरू सिर्जना गर्नेछ,’ उनले भने । केटीएसले विद्यार्थीहरूलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्ने नीति लिएको उनले बताए ।
कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र, विदेशी कूटनीतिक नियोग तथा दातृ निकायका प्रतिनिधि र अन्य सरोकारवालाको उपस्थिति थियो ।
प्रतिक्रिया