संघाई सहयोग संगठनको सम्मेलनमा किन छुट्यो नेपाल ?

संघाई सहयोग संगठनको सम्मेलनमा किन छुट्यो नेपाल ?


काठमाण्डु – पाकिस्तानको राजधानी इस्लामावादमा यसै हप्ता संघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन सम्पन्न भएको छ । १५ र १६ अक्टोबरसम्म दुई दिनसम्म भएको शिखर सम्मेलनमा भारत, चीन, रूसका साथै थुप्रै मध्य एशियाली देशसहित विभिन्न सदस्य राष्ट्रहरू सहभागी थिए ।

सम्मेलनमा चिनियाँ प्रधानमँत्री ली क्वांग, रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, इरानका उपराष्ट्रपति मोहम्मद रेजा अरेफ, बेलारूसका प्रधानमन्त्री रोमन गोलोवचेन्को, कजाकिस्तानका प्रधानमन्त्री ओल्झास बेक्तेनोव, किर्गिस्तानका मन्त्रिपरिषद्का अध्यक्ष झापारोव अकिलबेक, ताजिकिस्तानका प्रधानमन्त्री कोखिर रसुलजोडा, उज्बेकिस्तानका प्रधानमन्त्री अब्दुल्ला आरिपोव, मंगोलियाका प्रधानमन्त्री ओयुएन–एर्डेने लुव्सन्नम्सराई, तुर्कमेनिस्तानका उप–प्रधानमन्त्री राशिद मरेदोवसहित पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र भारतका विदेशमन्त्री एस. जयशंकरसहितका नेताहरू सहभागी भए ।

२००१ मा चीन, रूस, कजाकिस्तान, किर्गिस्तान, तजाकिस्तान र उज्बेकिस्तानले संघाई कोअपरेशन अर्गेनाइजेशन (एससीओ)को स्थापना गरेका हुन् ।

मध्य एसियामा अमेरिकी नेतृत्वको उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो)को विस्तार र प्रभावलाई रोक्न रुस र चीनले काजाकिस्तान, किर्गिजस्तान र ताजिकिस्तानलाई साथमा लिएर यो संगठन स्थापना गरेका थिए । सन् २००१ मा ‘सांघाई फाइभ’ नामले चिनिने यो संगठनको प्रमुख उदेश्य आतंकवाद नियन्त्रण थियो । तर अहिले राजनीतिक, आर्थिक, सुरक्षा, स्वास्थ्य, पर्यटनसहित धेरै विषयमा सहकार्य हुने गरेको छ । अहिले एससीओ संसारकै सबैभन्दा ठुलो क्षेत्रीय संगठन मानिएको छ । एससीओको मुख्यालय चीनको राजधानी बेइजिङमा छ । यसको अध्यक्षता सदस्य राष्ट्रहरूले एक वर्षमा पालैपालो गर्छन् ।

एससीओमा आठ सदस्य राष्ट्र छन् । यिनीहरू चीन, रूस, कजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, भारत र पाकिस्तान हुन् ।
यसअतिरिक्त इरान, अफगानिस्तान, बेलारूस र मंगोलिया गरी चार पर्यवेक्षक देश हुन् । नेपाल, अजरबैजान, आर्मेनिया, कम्बोडिया, टर्की र श्रीलंका संवाद साझेदार (डायलग पार्टनर) छन् ।

यति मात्र होइन, यसका सदस्य देशहरूमा संयुक्त राष्ट्र सुरक्षा परिषदका दुई स्थायी सदस्य चीन र रूस तथा चार परमाणु शक्तिहरू चीन, रूस, भारत र पाकिस्तान यसै संगठन भित्र छन् ।

यस संगठनमा आवद्ध सदस्य राष्ट्रहरूको बैठक हरेक वर्ष हुन्छ । बैठकमा सदस्य राष्ट्रहरूले बहुपक्षीय मुद्दामाथि विमर्श गर्छन् भने अन्तर्राष्ट्रिय स्थितिमाथि छलफल गर्छन् ।

अर्थतन्त्र, जनसंख्या र भूगोलका दृष्टिले एससीओ सबैभन्दा वैश्विक संगठन हो । भौगोलिक दायरा र जनसंख्याको हिसाबले पनि यो विश्वकै ठुलो क्षेत्रीय संगठन हो । यसले विश्वका करिब २४ प्रतिशत क्षेत्र र ४० प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्छ । यो संगठनमा युरेशिया अर्था्त युरोप र एशियाको ६० प्रतशित भन्दा बढी क्षेत्रफल छ । एससीओका सदस्य राष्ट्रहरूले विश्वमा जीडीपीमा एक–चौथाई हिस्सा ओगटेका छन् ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन, पाचौँ ठूलो अर्थतन्त्र भारत, एघारौँ ठूलो अर्थतन्त्र रुसका अतिरिक्त पछिल्लो समय तीव्ररूपमा आर्थिक समृद्धि हासिल गरेका मध्य एसियाली देशशहरू यस संगठनका सदस्य हुन् ।

नेपाललाई निम्तो नै आएन

पाकिस्तानमा भएको संघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा नेपालको प्रतिनिधित्व रहेन ।

नेपाल यस संगठनको ‘डायलग पार्टनर’ हो । हुनत नेपालले यसको सदस्यताका लागि धेरैअघि नै आवेदन दिए पनि सदस्य बन्न सकेको छैन । नेपालले यसको सदस्यताका लागि २०६४ तिर आवेदन दिएको थियो । सदस्यताका लागि आवेदन दिए पनि नेपालले ९ चैत २०७२ मा मात्र एससीओ मा ‘डायलग पार्टनर’ का रूपमा प्रवेश पाएको हो । ‘डायलग पार्टनर’ को हैसियतबाट माथि सदस्य बन्ने नेपालको अपेक्षा छ ।

सदस्य र पर्यवेक्षक राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुखले एससीओ शिखर सम्मेलनमा सहभागी हुने अवसर प्राप्त गर्छन् । सम्मेलनमा ठुला राष्ट्रका शीर्ष नेतासँग भेटवार्ता गर्ने अवसर सदस्य वा पर्यवेक्षक राष्ट्रलाई हुन्छ । तर नेपालले यी अवसरबाट बञ्चित हुनु परेको छ । किनभने यसपटक सम्मेलनमा भाग लिन नेपालले निम्तो नै पाएन ।

सम्मेलन आयोजक राष्ट्र पाकिस्तानका प्रधानमन्त्री शेरबाज सरिफ संयुक्त राष्ट्रसंघको हालै न्युयोर्कमा सम्पन्न महासभामा प्रधानमन्त्री केपी ओलीसँग साइडलाइन बैठकमा भेटघाट गरेपनि निम्तो दिएनन् ।

‘डायलग पार्टनर’ को हैसियतमा भए पनि नेपालले यस सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा पाउनुपर्ने परराष्ट्रविद्हरू बताउँछन् । नेपालको मित्र राष्ट्र पाकिस्तान सम्मेलनको आयोजक भएपनि निमन्त्रण नपाउनु नेपालको कुटनीतिक सञ्चालन कमजोर भएको उनीहरूको टिप्पणी छ ।

विश्वको आधाभन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्ने एससीओमा सहभागी हुनु नेपालका लागि फाइदाजनक रहेको विज्ञहरूको भनाइ छ । तर नेपालले यसबाट पर्याप्त लाभ लिन चुकेको र सरकारले पनि एससीओलाई महत्व नदिएको जस्तो देखिएको उनीहरूको धारणा छ ।

आर्थिक, जनसांख्यिक र भौगोलिक आकारका दृष्टिले ठूला देशहरू आबद्ध भएकाले मात्र नभई चीन, भारत, पाकिस्तान, रुसजस्ता देशहरू यस संगठनको सदस्य भएका कारण भूराजनीतिक दृष्टिले यो संगठन नेपालका लागि महत्वपूर्ण रहेको उनीहरूको धारणा छ ।

अहिले नेपाल सार्क, आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगालको खाडीको सहकार्य (बिमस्टेक) जस्ता क्षेत्रीय संगठन र बीबीआईएन (भुटान, बंगलादेश, भारत, नेपाल) मोटर भेइकल एग्रिमेन्टमा सहभागी छ ।