काठमाण्डु – धितोपत्र बोर्डको अध्यक्षका लागि दरखास्त दिएर आइतबार अन्तर्वाता दिन बोलाइएको समयमा नआएका तीन उम्मेदरवार पुनः बुधबार बोलाइएको समयमा पनि आएनन् । कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि दुई पटक बोलाउँदा पनि नआएपछि एक जना अन्तर्वार्ता दिन नआएका र दुई जना अन्तर्वार्ता दिन आएकालाई समेटेर मन्त्रिपरिषद्मा पठाउने तयारी सिफारिस समितिले गरेको छ ।
दोस्रो पटक अन्तर्वार्ताका लागि बुधबार बिहान ९ देखि ११ बजेसम्मको समय तोकिएको थियो । अध्यक्ष नियुक्ति सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाएको थियो । आइतबार सर्टलिष्टमा परेका मध्य सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ता दिएका थिए ।
सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं आइतबार र बुधबार दुवै दिन अनुपस्थित रहे ।
अब बिहिबारको मन्त्रिपरिषद् बैठकमा अन्तर्वार्ता दिएका दुई जना र डा. अधिकारीको नाम पठाउने तयारी सिफारिस समितिको छ ।
सिफारिस समितिले बोर्ड अध्यक्षका लागि कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था छ ।
धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।’ भन्ने वाक्यांश उल्लेख छ । पाँचमध्ये दुई अन्तर्वार्तामा उपस्थित भएका र एक उपस्थित नभएकालाई सिफारिस गर्ने तयारी भएको समितिका एक सदस्यले जनाकारी दिए । ऐनमा प्रस्तुतीकरणको ४८ र अन्यबाट ५२ नम्बर हुने व्यवस्था छ । तसर्थ अन्तर्वार्ता दिएका श्रेष्ठद्वयबाट एउटा अध्यक्ष नियुक्त हुने प्रवल सम्भावना छ ।
अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री मतैक्यता छैन । प्रधानमन्त्री दाहालले श्रेष्ठद्वयलाई बनाउन चाहेका छन् भने अर्थमन्त्री पुनले चापागाँई र कार्कीलाई बोकेका छन् ।
निकटस्थ स्रोतका अनुसार अर्थमन्त्री पुनलाई जानकारी गराएर तीन जना अन्तर्वार्तामा नगएका हुन् । यो विषय थाहा पाएपछि प्रधानमन्त्री दाहालले अर्थमन्त्री पुनलाई बोलाएर आफूले भनेको नहुने भएपछि अन्तर्वार्तामा नआउन भन्ने भनेर झपारेको पनि निकटस्थ स्रोतले बतायो । प्रधानमन्त्री दाहालले अर्थमन्त्री पुनलाई गठबन्धनलाई असर गर्नेगरी अन्तर्वार्तामा नआउन भनेको भन्दै रिसाएको पनि प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।
सत्ता घटक सबैभन्दा ठूलो दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि श्रेष्ठद्वयबाट एक जनालाई अध्यक्ष बनाउन प्रधानमन्त्रीलाई सु्झाएका छन् । तर, अर्थमन्त्रीले भने यी दुईलाई नबनाउन प्रक्रियालाई बाधा पुग्नेगरी सिफारिस समितिले अन्तर्वाताका लागि छानेका ५ जना मध्य तीन जनालाई वार्तामै उपस्थित नहुन निर्देशन दिएका थिए । त्यसबाट प्रधानमन्त्री अर्थमन्त्रीसँग असन्तुष्ट भएको स्रोत बताउँछ ।
प्रतिक्रिया