सेबोनमा बेथिति : महिनैपिच्छे हुन्छ कर्मचारीको सरुवा, निकटस्थहरूले मात्र पाउँछन् आईपीओको अनुमति

सेबोनमा बेथिति : महिनैपिच्छे हुन्छ कर्मचारीको सरुवा, निकटस्थहरूले मात्र पाउँछन् आईपीओको अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धितोपत्र बोर्डमा अध्यक्ष सन्तोष नारायण श्रेष्ठको बेथितिले चरम सीमा नाघेको छ । बोर्डका अध्यक्ष श्रेष्ठले मनपरी गरेको भन्दै अहिले कर्मचारीहरु नै हैरान परेका छन् । उनका कारण केही उच्च तहका कर्मचारीले राजीनामा नै गरिसकेका छन् । केहीले उनिसंग काम गर्न नसकिने भन्दै अझै राजीनामा दिनेमा छन् ।

अध्यक्ष श्रेष्ठले आफु अनुकुलताका निर्णय नभएपछि महिनै पिच्छे कर्मचारीहरुको सरुवा गरिरहेको र सिमित व्यवसायीहरुको मात्र काम गर्न दबाव दिएको गुनासो बोर्डका कर्मचारीहरुको छ । श्रेष्ठ २४ नोभेम्बर २०२४ मा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका थिए । उनको नियुक्तिलाई लिएर तत्कालिन माओवादी एमालेको गठबन्धन सरकार नै ढलेको थियो ।

श्रेष्ठलाई व्यावसायी दीपक भट्टको जोडवलमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरिएको थियो । तत्कालिन अर्थमन्त्री वर्षमान पुनले भट्टलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राखेर स्टक एक्सचेन्जको लाइसेन्स भट्टलाई दिने सहमति गर्ने तर नियामक निकायको नेतृत्व भने आफुले नै गर्ने भनेपनि भट्टले त्यसलाई अस्वीकार गरेको स्रोतको दावी छ । नयां गठबन्धन बन्ने वित्तिकै श्रेष्ठलाई बोर्डको अध्यक्ष बनाइएको थियो ।

पछिल्लो समय श्रेष्ठले किरण भवन ( भट्टको कार्यालय) बाट आएको सिफारिस बाहेक अरु काम खासै नगरेको गुनासो बोर्ड भित्र ब्यापक छ ।

श्रेष्ठले आफ्नो स्वार्थमा मात्र काम गर्न थालेपछि उनिसंग काम गर्न नसकिने भन्दै दुई जना उच्च तहका कर्मचारीले राजिनामा नै दिइसकेका छन् । व्यक्तिगत कारण भनिएपनि बोर्डको कार्यकारी निर्देशक कृष्णराज पोखरेलले श्रेष्ठसंग काम गर्न नसकिने भन्दै गत पुसमा नै राजीनामा दिएका थिए । जवकी पोखरेल २ वर्षअघि मात्र उक्त पदमा बढुवा भएका थिए ।

पोखरेल यसअघिका अध्यक्ष रमेश हमाल बोर्डको अध्यक्ष नियुक्त भएलगत्तै कार्यकारी निर्देशकमा बढुवा भएका थिए । पोखरेलपछि अर्का उप–कार्यकारी निर्देशक कृष्ण घिमिरेले राजीनामा दिएका थिए ।

श्रेष्ठ बोर्ड अध्यक्ष नियुक्त भएपछि कार्यकारी निर्देशकहरुको सरुवा गरेका थिए । त्यसपछि पहिलो महिनामा नै फस्ट क्लासको दुई पटक सरुवा गरेका छन् । त्यसपछि सेकेण्ड क्लासको अनुकुलतामा सरुवा गरिरहेका छन् ।

श्रेष्ठले एक जना उप कार्यकारीलाई त तीन पटक सरुवा गरिसकेका छन् । उनले दिनेश ताम्राकारलाई रिसर्चबाट व्यवस्थापन, व्यवस्थापनबाट सुपरिवेक्षणमा सरुवा गरिसकेका छन् । सुपरिवेक्षणमा बसेर कडा गरेको भन्दै नारायण शर्मालाई रिसर्चतिर पठाएका छन् ।

उनले बोर्डमा निकै महत्वपूर्ण मानिने बोर्ड सचिवमा रुपेश केसीलाई हटाएर निरन्जय घिमिरेलाई जिम्मेवारी दिएका छन् ।

‘उहांको निर्णय क्षमता एकदम कमजोर छ । कहिले कुनै कर्मचारीलाई च्याप्ने कहिले तिनैलाई हटाएर अर्कोलाई ल्याएर आफ्नो स्वार्थपूर्ति गर्न लाग्नुभएको छ । यसले बोर्डमा कर्मचारीको तिव्र असन्तुष्टि छ । कतिले त राजीनामा दिने जानकारी समेत दिइसकेका छन् । ’ धितोपत्र बोर्डका एक कर्मचारीले भने ।

उनकाअनुसार बोर्डका अध्यक्ष श्रेष्ठको निर्णय क्षमताका कारण बोर्डको काममा समेत समस्या भइरहेको छ । उनले नयां स्टक एक्सचेन्सको लाइसेन्सलाई अघि बढाउने कामलाई उच्च प्राथमिकतामा राखेका छन् । त्यससंगै उनले आफुसंग निकट व्यवसायीहरुको आईपिओको कामलाई अघि बढाउने र अरुको हकमा फाइल नल्याउन कर्मचारीलाई हप्कीदप्की गर्ने गरेको बोर्डको एक उच्च अधिकारीले जानकारी दिए ।

धितोपत्र बोर्डमा ७० वटा भन्दा बढी कम्पनी आईपीओको लागि पाइपलाइनमा छन् । तर, श्रेष्ठले छानिछानि पछाडी अनुमतिका लागि आवेदन दिएका कम्पनीको मात्र फाइल सदर गरिरहेका छन् । उनले रमेश हमाल अध्यक्ष हुंदा नै विवादित भएको ट्रेड टावर कम्पनीको आईपीओको अनुमति दिएका छन् । जवकी यो कम्पनीको जग्गा नै नेपाल खाद्य संस्थानको नाममा रहेको छ । कम्पनीले थापाथलीमा व्यावसायिक भवन ट्रेड टावर संचालन गर्दै आएको छ ।

३२ वर्षका लागि भाडामा लिएर भवन वनाएको कम्पनीको १५ वर्ष समय सकिएको छ भने अव जम्मा १७ वर्ष मात्र बांकी छ । श्रेष्ठले आफ्नो स्वार्थ बांझिने भन्दै कार्यकारी निर्देशकलाई यसको अनुमति प्रदान गर्न भनेका थिए । बोर्डले अध्यक्ष श्रेष्ठलाई यो अधिकार दिएको भएपनि यसमा उनले कार्यकारीबाट यो निर्णय गराउन लगाएका थिए । धितोपत्र बोर्डमा भएको बेथितिबारे श्रेष्ठसंग बुझ्न खोज्दा उनले पटक पटक फोन काटे ।