अन्तर्वार्तामा दुई जनामात्रै उपस्थित भएपछि सेबोन अध्यक्ष नियुक्ति सिफारिसमा कानुनी समस्या

अन्तर्वार्तामा दुई जनामात्रै उपस्थित भएपछि सेबोन अध्यक्ष नियुक्ति सिफारिसमा कानुनी समस्या


काठमाण्डु – नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको सिफारिस नहुने सम्भावना बढेको छ । कानुनी रूपमा कम्तीमा ३ जनाको नाम अर्थ मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ । तर, अन्तर्वार्तामा २ जना मात्रै उपस्थित भएपछि नियुक्ति सिफारिस समितिलाई सिफारिस गर्न समस्या देखिएको हो ।

अन्तर्वार्ताका लागि ५ जना छनोट भएका थिए । अन्तर्वार्ताका लागि बोलाइएको दिन दुई जनामात्रै उपस्थित भएको तीन जना अनुपस्थित रहेको समिति स्रोतले जानकारी दियो । आइतबार बोलाएको अन्तर्वार्तामा चिरन्जिवी चापागाई, कृष्ण कार्की र डा.नवराज अधिकारी अनुपस्थित थिए । अनुपस्थित भएका मध्य डा. अधिकारी र कार्की सत्ताको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र) निकट रहेको बोर्ड स्रोतले जानकारी दियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री र उपमहासचिव वर्षमान पुन अर्थमन्त्री छन् ।

स्रोतले डा. अधिकारी बिरामी बिदामा बसेका, कार्की उपत्यका बाहिर रहेको जानकारी गराएको बतायो । समिति स्रोतले चापागाईंको मोवाइल अफ रहेकाले कहाँ छन् थाहा नभएको जानकारी थियो । तीनै जनाको मोवाइल अफ रहेको जानकारी पनि समिति स्रोतले दियो । अन्तर्वार्ताका लागि तोकिएको समयमा मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ भने उपस्थित थिए ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा (३) मा अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको समिति गठन गर्ने उल्लेख भएबमोजिम त्यसै अनुरुपको सिफारिस समिति गठन भएको थियो ।

सोही दफाको उपदफा ४ मा उपदफा (३) बमोजिमको समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिमको योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्ने उल्लेख छ । अन्तर्वार्ताका लागि २ जना मात्रै उपस्थित भएपछि के गर्ने भन्नेमा समिति नै अन्यौलमा परेको छ ।

सरकारले गत माघमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको अध्यक्षतामा गठित समितिमा अर्थसचिव र स्वतन्त्र विज्ञतर्फ त्रिभुवन विश्वविद्यालयका प्रध्यापक उदय निरौला सदस्य रहेका छन्।