एसईईमा ‘फेल’ भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने शिक्षामन्त्रीको निर्णय

एसईईमा ‘फेल’ भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने शिक्षामन्त्रीको निर्णय


काठमाण्डु – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा अनुत्तीर्ण भएका सबै विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने निर्णय भएको छ ।

शुक्रबार बसेको शिक्षामन्त्री स्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको छ ।

परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन् तर यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिन पाउने निर्णय गरिएको छ ।

मन्त्रालयका प्रवक्ता केशव दाहालले लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थी मौका परीक्षाबाट वञ्चित हुने भएकाले ती विद्यार्थीलाई पनि समेट्ने गरी निर्देशन दिने निर्णय गरिएको छ ।

उनले भने, ‘अब जतिवटा विषय लागेका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउँछन्, यसको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको छ । यसका लागि लेटर गेडिङ निर्देशिकामा पनि परिमार्जन गर्नुपर्छ, थप कोचिङ कक्षाहरू पनि आवश्यक छ ।’

पाठ्यक्रम विकास केन्द्र, सबै जिल्ला शिक्षा समन्वय इकाई र राष्ट्रिय परीक्षा बोर्डलाई सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराउने गरी काम गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

बिहीबार प्रकाशित एसईईको नतिजाअनुसार १ लाख २६ हजार ४७९ विद्यार्थीलाई दुईभन्दा बढी विषय लागेको छ । मौका परीक्षा साउनको १८ र १९ गते तोकिएको छ ।