काठमाण्डु- गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए एसइई परीक्षा सञ्चालन प्रक्रियामा प्रदेश सरकार सामेल नहुने मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले चेतावनी दिएका छन् ।
प्रदेशको शैक्षिक अवस्थामा सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियाहरूमा सामयिक सुधार ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने भन्दै मुख्यमन्त्री सिंहले ध्यानाकर्षण गराएका छन् ।
परीक्षा सञ्चालन हुन तीन दिन मात्र बाँकी रहँदा मुख्यमन्त्री सिंहले केन्द्राध्यक्ष सम्बन्धित केन्द्र रहेको विद्यालयका प्रधानाध्यापक नभई गोलाप्रथाद्वारा तय गर्न समितिको ध्यानाकर्षण गराएका हुन् ।
केन्द्राध्यक्षको नियुक्ति परीक्षा केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई दिइँदा विगतमा पनि अनियमितता भइरहेको र यसपटक रोक्न उक्त प्रणाली परिवर्तन गर्नुपर्ने मुख्यमन्त्री सिंहको अडान छ । उनले प्रदेशको शैक्षिक अवस्थामा सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियाहरूमा सामयिक सुधार ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने निर्देशन दिइसकेका छन् ।
प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयका आधारमा गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए प्रदेश सरकारले एसइई परीक्षा सञ्चालन प्रक्रियामा सामेल नहुने स्थिति आउन सक्ने भन्दै उनले चेतावनी दिएका हुन् ।
मधेशमा केन्द्राध्यक्ष नियुक्ति सम्बन्धमा जिल्लामा कार्यरत मावि तहका शिक्षक÷प्रधानाध्यापक र प्रदेश शिक्षा तथा संस्कृतिमन्त्रीको उपस्थितिमा प्रदेश परीक्षा सञ्चालन वा केन्द्र कायम भएका विद्यालयका प्रधानाध्यापक मध्येबाट केन्द्राध्यक्षका लागि रोस्टर तयार गरी सो रोस्टरमा रहेका सम्बन्धित केन्द्राध्यक्षलाई उनीहरूकै उपस्थितिमा तथा जिल्ला परीक्षा समन्वय समितिको रोहबरमा जेष्ठ शिक्षकबाट क्रमशः केन्द्रका नाउँ उल्लेख भएका गोला तान्न लगाई केन्द्राध्यक्ष तय गर्ने निर्णय भएको थियो ।
तर, प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयविपरीत विभिन्न जिल्लामा साबिकको व्यवस्थाबमोजिम सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको पाइएपछि मधेश सरकारले चेतावनी दिएको हो ।
यता जिल्ला परीक्षा समन्वय समितिहरूले यसअघिका वर्षहरूझैँ केन्द्राध्यक्ष सम्बन्धित केन्द्र रहेको विद्यालयका प्रधानाध्यापक तोकेर नै प्रक्रिया अघि बढाएका छन् । महोत्तरीमा पनि यसअघिका वर्षहरूमा भई आएको व्यवस्थाबमोजिम नै केन्द्राध्यक्ष तोकिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए ।
प्रतिक्रिया