एसइई नतिजा आज सार्वजनिक हुँदै

एसइई नतिजा आज सार्वजनिक हुँदै


काठमाण्डु-माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुँदैछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान नतिजा सार्वजनिक गर्ने तयारी छ । हिजो नै नजिता सार्वजनिक गर्ने तयारी भए पनि केही प्राविधिक काम बाँकी भएकाले आज सार्वजनिक गर्ने निर्णय भएको कार्यालयले जनाएको छ ।

गएको चैत १५ देखि २७ गतेसम्म भएको एसईई परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ विद्यार्थी सहभागी थिए । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्ने भएको छ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था छ ।

विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशअङ्क ल्याउनुपर्छ । ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६ दशमलव २५ अङ्क ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क ल्याउनुपर्छ ।

७५ पूर्णाङ्कको सैद्धान्तिकमा २६ दशमलव २५ र आन्तरिकतर्फ न्युनतम् १० अंक नआएको खण्डमा विद्यार्थीको मार्कसिटमा नन ग्रेडेड उल्लेख हुने छ । मौका परीक्षाबाट ग्रेड वृद्धि नगरी कक्षा ११ मा पढ्न भर्ना हुने पाइने छैन । दुई विषयमा असफल हुने विद्यार्थीले मौका परीक्षा दिन पाउने छन् ।

दुईभन्दा बढी विषयमा असफल हुने विद्यार्थी तथा मौका परीक्षामा समेत असफल भएका विद्यार्थी भने अर्को वर्ष पास हुन नसकेका विषयको मात्रै परीक्षा दिनु पर्ने छ ।