अब एसइई परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने

अब एसइई परीक्षा प्रदेश सरकारले सञ्चालन गर्ने


काठमाडौं – यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेश सरकारले गर्ने भएको छ । मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्ने छ । ‘हामीले यहाँबाट प्रश्नपत्र मात्र पठाउँछौँ’, उनले भने, ‘उत्तरपुस्तिकाको छपाइदेखि परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्नेजस्ता काम प्रदेश सरकारले गर्ने छ ।’ नियन्त्रण कार्यालयले गत वर्षको तोकिएको परीक्षा केन्द्र नबढाइ तोक्न निर्देशन दिइएको छ ।

यसअघि नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गर्ने गर्दथ्यो । प्रदेश सरकारले सञ्चालन गरेको उत्तरपुस्तिका भने नियन्त्रण कार्यालयमा आउने र समपरीक्षण तथा नतिजा प्रकाशन गर्ने छ । सरकारले यस वर्षदेखि एसइई प्रदेशस्तरमा नै गर्ने भने तापनि आवश्यक तयारी नपुगेकाले नियन्त्रण कार्यालयलाई जिम्मेवारी दिइएको हो । यस वर्षको एसइई परीक्षा चैत १० गतेबाट हुँदैछ । उनका अनुसार परीक्षामा करीब चार लाख ८० हजार विद्यार्थी सहभागी हुँदैछन् । उनले अहिले प्रश्नपत्रको काम भइरहेको जानकारी गराए ।