एसइई नतिजामा भूल : एउटै विद्यार्थीको दुई दिनमा दुई मार्कसिट

एसइई नतिजामा भूल : एउटै विद्यार्थीको दुई दिनमा दुई मार्कसिट


काठमाडौं – माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले शनिबार प्रकाशित गरेको नजितामा आइतबार हजारौं विद्यार्थीको जिपिए बढेको छ ।

पनिकाले तोकेका वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिबार प्राप्त गरेको जिपिए आइतबार बढेको हो । जिपिए बढेपछि विद्यार्थी, अभिभावक रशिक्षक अन्योलमा परेका छन । कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखायो ।

विषयगत रूपमा ए प्लस आउनुपर्नेमा ए मात्र आउनाले समग्र जिपिए घटेको थियो । मोक्षदा स्कुलकी ०३११०३२टी सिम्बोल नम्बरकी सुनिता रोकाको शनिबार एसएमएस गर्दा जिपिए ३.८५ आएको थियो । उनले आइतबार उही सिम्बोल नम्बरमा एसएमएस गर्दा जिपिए ३.९० आएको छ । ‘हिजो र आजको जिपिए फरक आयो, कुनलाई आधिकारिक मान्ने अन्योल भयो,’ रोकाले भनिन ।

अधिकांशको जिपिए बढ्यो
आइतबार प्रायः विद्यार्थीको जिपिए बढेको छ । सुकेधारास्थित बागमती बोर्डिङ माध्यमिक विद्यालयका प्रिन्सिपल श्यामदत्त अधिकारीले आफ्नो विद्यालयका लगभग सबै विद्यार्थीको जिपिए बढेको बताए । ‘केही साँच्चै राम्रा विद्यार्थीको अप्रत्याशित नतिजाले हामी आश्चर्यमा परेका थियौँ । शनिबार जिपिए ३.८ आउनेको आइतबार ३.९ आएको छ,’ उनले भने ।

जिम्मेवार निकायबाट धेरै लापरबाही हुँदा विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर परेको उनले बताए । ‘पनिकाजस्तो जिम्मेवार निकायको विश्वसनीयतामा प्रश्न उठ्यो । पूर्ण तयारी नगरी हतारहतारमा नतिजा प्रकाशन गर्नुभन्दा केही ढिला गरेको भए बेस हुन्थ्यो,’उनले भने । यो खबर आजको नयांपत्रिकामा छ ।