नेता कोइराला र बेलायतमा नेपाल हेर्ने समितिका अध्यक्ष बेकरबीच भेटघाट

नेता कोइराला र बेलायतमा नेपाल हेर्ने समितिका अध्यक्ष बेकरबीच भेटघाट


काठमाण्डु- बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन् ।

लण्डनस्थित नेपाली राजदूतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरूको सेवा र सुविधाको विषयमा छलफल गर्दै उनीहरूको समस्याको समाधान हुनुपर्नेमा जोड दिए ।

कोइरालाले ब्रिटिस एअरवेजको काठमाडौं–लण्डन सिधा हवाई उडान हुनुपर्ने र जलवायु परिवर्तनका कारण उत्पन्न परिस्थितिका बारेमा पनि बेकरसँग छलफल गरे । उनले जलवायुका कारण नेपाल संकटमा पर्दै गरेको र हिउँ पग्लेर हिमालहरू कुरुप बनिरहेको बताए । जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिबाट राहत दिलाउन बेलायतले सहयोग गर्नुपर्ने कोइरालाले माग आग्रह गरे ।

बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदूत विपिन दुवाडी पनि उपस्थित थिए ।