काठमाण्डु- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अमेरिका र चीनबीच जारी व्यापार युद्धले विश्व डरलाग्दो अवस्थामा अघि बढेको विश्लेषण गरेका छन् ।
अहिले शक्तिशाली राष्ट्रबीच र विश्वभर नै देखिएको भन्सार युद्ध निकै खतरनाक मोडमा पुगेको बताउँदै कोइरालाले यसबाट नेपाल पनि अछुतो रहन नसक्ने बताए ।
वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभा कार्यक्रमा शनिबार बोल्दै कोइरालाले भन्सार युद्ध तेस्रो विश्वयुद्धभन्दा पनि ठूलो हुने उल्लेख गरे ।
‘विश्व जसरी ट्रयारिफ वारमा गइरहेको छ, त्यसले नेपाल अछुतो रहन सक्दैन’, उनले भने, ‘अमेरिका र चीनको ट्यारिफ वार भइरहेको छ, सबै देशमा भइरहेको छ । यो तेस्रो वल्र्डवारभन्दा ठूलो होला जस्तो देखिन्छ ।’
उनले यस्तो अवस्थामा नेपालले पनि सोच्नुपर्ने बेला आएको सुझाव दिए ।
यस्तै कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको टिप्पणी गरे । आफूले यो कुरा पटकपटक दोहो¥याएको बताउँदै पार्टी नेतृत्वलाई फेरि स्मरण गराएको बताए ।
पार्टी सभापति शेरबहादुर देउवासँगै रहेका कोइरालाले अहिले एमाले नै कांग्रेसको प्रतिस्पर्धी भएकोले सरकारलाई खबरदारी गर्नु पर्नेमा जोड दिए ।
‘म पटक–पटक भन्ने गरको छु । हामी सत्तामा छौं, सरकारमा छैनौं । किनभने प्रतिस्पर्धी एमाले नै हो । एमालेसित सहर्काय गरेर अगाडि बढिराखेका छौं’, उनले भने, ‘कहीँ यो सरकारले गलत गरेको छ कि कमजोरी गरेको छ कि भनेर हामीले वार्न गर्नपर्छ । गरेनौ भने अप्ठेरोमा पर्न सक्छौं ।’
संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताउँदै कोइरालाले ढिला नगर्न सुझाव पनि दिए । ‘संविधान पुनरावलोकन गर्ने कुरा हो । यसमा ढिलाई नगरौं,’ उनले भने ।
प्रतिक्रिया