प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक बिदाई

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक बिदाई


काठमाण्डु-नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले यही भदौ २४ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दैछन् । उनी करिब ४२ वर्ष लामो अनवरत सैनिक सेवा एवं प्रधानसेनापतिको तीन वर्षे कार्यकाल सम्पन्न गरी अवकाश हुन लागेका हुन् । उनको स्थानमा नेपाली सेनाका बलाधिकृत अशोकराज सिग्देललाई प्रधानसेनापतिमा नियुक्त भएका छन् । उनको नियुक्ति भदौ २५ गतेबाट लागु हुने छ ।

प्रधानसेनापति शर्माको सम्मानमा बुधवार जङ्गी अड्डामा विशेष समारोहका बीच बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा रक्षा सचिव रामेश्वर दंगालले नेपाली सेनाको संस्थागत सुदृढीकरण, आधुनिकीकरण र व्यावसायिक क्षमता वृद्धिका लागि प्रधानसेनापति शर्माले पु¥याउनु भएको योगदान चिरकालपर्यन्त स्मरणीय रहने बताए। साथै उनले प्रधानसेनापति शर्माको बौद्धिक व्यक्तित्व, रणनीतिक सुझबुझ र नेतृत्व कौशलबाट आफू प्रभावित रहेको उल्लेख गरे ।

कामु प्रधानसेनापति सिग्देलले नेपाली सेनाको साख तथा प्रतिष्ठालाई थप उचाइमा पु¥याउन महारथी शर्माले प्रदर्शन गर्नुभएको दृढता र समर्पण भाव नेपाली सेनाको इतिहासमा सदैव जीवन्त रहने बताए ।

प्रधानसेनापति शर्माले नेपाली सेनामा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्दै आफ्नो कार्यकालमा भएका दीर्घकालीन योजनाहरूको कार्यान्वयन तथा अन्य साङ्गठनिक उपलब्धिहरू सम्पूर्ण सकलदर्जाको सामूहिक प्रयासबाट सम्भव भएको बताए ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले प्रधानसेनापति शर्मालाई सम्झना स्वरूप उपहार प्रदान गरेका थिए । यस्तै सैनिक श्रीमती संघकी अध्यक्ष तथा कायममुकायम अध्यक्षबिच सम्झनास्वरूप उपहार आदानप्रदान भएको थियो ।

यस अघि प्रधान सेनापति शर्माले कामु प्रधानसेनापति सिग्देललाई नेपाली सेनाको झन्डा, प्रधानसेनापतिको झन्डा तथा छडी हस्तान्तरण गरेका थिए भने प्रधानसेनापति शर्माको सम्मानमा एक टुकडीले सम्मान गारद समेत अर्पण गरेको थियो । रासस