काठमाडौं – खाडी मुलुक कतारमा पक्राउ परेका ‘सिरियल किलर’ सकिल हुसेनले पैसाको लेनदेनकै कारण सप्तरी र सुनसरीमा आठ जनाको ज्यान लिएको तथ्य फेला परेको छ ।
अवधेश कुमार झाले लेखेको समाचारमा सप्तरीको टिकुलिया गाविस–७ घर भई कुसहा गाविस–६ बसिरहेका हुसेनलाई कतारमा इन्टरपोलले यसै साता पक्राउ गरेको उल्लेख गरेको छ । समाचारमा ‘सिरियल किलर’ सकिलले भारतीय नागरिक मोहम्द मस्तकिम भनिने रइस मियाँसहित मिलेर सप्तरी र सुनसरीमा हत्याको शृंखला नै चलाएको प्रहरीको भनाइ छ । शृंखलाबद्ध हत्याका आरोपी सकिल प्रहरीलाई छक्याउँदै कतार पुगेपछि उनलाई इन्टरपोलमार्फत पक्राउ गरिएको छ ।
उनका साथी भारतीय नागरिक रइसलाई बैदेसिक रोजगारीका लागि जाने क्रममा केही महिनाअघि त्रिभुवन विमानस्थलवाट प्रहरीले पक्रेको थियो । सकिलसहितको समूहले गरेको सबै हत्याको घटना रकम लेनदेनसँग सम्बन्धित रहेको सप्तरी प्रहरीले बताए । सकिलले सप्तरी मल्हनियाका आरूल मियाँको हत्या गरेपछि अरू सातवटा हत्या गरेको प्रहरीको दाबी छ ।
०६४ वैशाख २६ गते आरूलको हत्या भएको थियो । त्यो हत्याको आरोपमा ०६८ मंसिरमा पक्राउ परेका सकिल पुनराबेदन अदालत राजविराजको आदेशमा ०६८ माघ २६ गते रिहा भएका थिए । त्यसपछि उनले एकपछि अर्को गर्दै सात हत्यामा संलग्न रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया