सेवा सुविधासम्बन्धी विधेयक विधायन समितिमा

सेवा सुविधासम्बन्धी विधेयक विधायन समितिमा


पोखरा- प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री एवं मन्त्री, प्रदेश तथा स्थानीय तहका पदाधिकारी एवं सदस्यको सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक विधायन समितिमा पठाउने निर्णय गरेको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले छुट्टाछुट्टै रुपमा मुख्यमन्त्री तथा मन्त्रीले पाउने पारिश्रमिक तथा सुविधाका सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित सदनमा पठाइयोस् भन्दै गरेकाे प्रस्ताव सर्वसम्मत स्वीकृत भएको थियो ।

बैठकले प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले प्रदेशसभा नियमावली संशोधन मस्यौदा समिति गठन गरियोस् भन्दै समितिमा रहने सदस्यको नामावलीसहित गरेकाे प्रस्ताव सर्वसम्मत पारित गरेको छ । समितिका सदस्यमा इन्द्रलाल सापकोटा, रोशनबहादुर गाहा, विष्णुप्रसाद लामिछाने, ललितकला गुरुङ, चन्द्रबहादुर बुढा, मधुमाया अधिकारी, टेकबहादुर घर्ती, हरिशरण आचार्य र प्रदेशसभा सचिवालयका सचिव पदेन सदस्य सचिव हुने व्यवस्था गरिएको छ । अर्को बैठक यही चैत २१ गते बिहान ११ बजे बस्नेछ ।