काठमाण्डु – परराष्ट्र सचिव सेवा लम्साल घुमेको घुम्यै छिन् । चीनबाट फर्केको एक सातामै फेरि उनको ओमान जाने कार्यक्रम तय भएको छ ।
लम्साल साउन २३ गते मस्कटमा हुने नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन राजधानी मस्कट प्रस्थान गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सचिव लम्साल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार २१ साउनमा त्यसतर्फ प्रस्थान गर्न लागेको मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा परराष्ट्र सचिव लम्साल मस्कटमा औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुनेछिन् । उनी यही साउन २५ गते स्वदेश फर्कनुहुनेछ ।
लम्साल यसअघि ९ साउनमा चीन गएर १२ साउनमा फर्केकी थिइन् ।चीनबाट बेइजिङ हुँदै मानसरोवर भ्रमणमा जाने कार्यक्रम तय भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण छोट्याएर फर्कन निर्देशन दिएपछि उनी नेपाल फर्केकी हुन् ।
लम्साल चीन अघि भारत भ्रमणमा गएकी थिइन् । सरकारले सचिव लम्साललाई बेल्जियमको राजदूत बनाउने तयारी गरेको छ ।
प्रतिक्रिया