गृहमन्त्री रविलाई सांसद शाहीको चुनौती : प्रधानमन्त्री प्रचण्डलाई जेल हाल्नुस्

गृहमन्त्री रविलाई सांसद शाहीको चुनौती : प्रधानमन्त्री प्रचण्डलाई जेल हाल्नुस्


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं प्रतिनिधिसभा सदस्य ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जेल हाल्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई त्यसबेलाको सरकारले भगाएको हो भने प्रधानमन्त्री प्रचण्डलाई जेल हाल्नुपर्ने तर्क गरे ।

गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई त्यसबेलाको सरकारले भगाएको अभिव्यक्ति दिएको सन्दर्भमा सांसद शाहीले त्यतिखेरको सरकारले अपराधी भगाएको हो भने प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्ने बताए ।

‘जीबी राईलाई त्यतिखेरको सरकारले भगायो भन्नुभएको रहेछ । त्यतिखेरको प्रधानमन्त्री अहिले तपाईंकै प्रधानमन्त्री हुनुहुन्छ, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । अब प्रचण्डसँग राप्रपाले जवाफ माग्छ,’ उनले भने, ‘गृहमन्त्रीले नै आरोप लगाएपछि प्रचण्ड जेल जानुपर्‍यो । किन जेल जानुपर्‍यो भने उहाँले जीबी राईलाई भगाएको भनेर आरोप लगाइसक्नुभएको छ ।’

सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने विवादमा मुछिएका छन् । राजनीतिमा आउनुअघि उनले फरार रहेका जीबी राईसँग मिलेर टेलिभिजन सञ्चालन गरेका थिए ।