प्रदूषित गाडी प्रधानमन्त्रीकै भएपनि कारबाही गरेरै छोड्ने वातावरणमन्त्री बस्नेतको उद्घोष

प्रदूषित गाडी प्रधानमन्त्रीकै भएपनि कारबाही गरेरै छोड्ने वातावरणमन्त्री बस्नेतको उद्घोष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषित गाडीहरुलाई हटाएरै छोड्ने उद्धघोष गरेका छन्।

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘भोलिबाटै स्वच्छ वातावरण महाअभियान सुरु हुन्छ, हामी कार्यान्वयन गरेरै छाड्छौं, प्रदूूषित गाडीहरु मन्त्रीहरु वा प्रधानमन्त्री जोसुकैको भएपनि छोड्दिन।’

उनले धुलो र धुवाँबाट प्रताडित जनतालाई मुक्ती दिलाउनको लागि आफूहरुले फोहोर व्यवस्थापन र सरसफाई, प्रदूषण नियन्त्रण, हरियाली प्रवर्द्धन र स्वच्छ वातावरण बनाउन महाअभियान सञ्चालन गर्न लागेको जनाए।

मन्त्री बस्नेतले वन क्षेत्रबाट आगामी एक वर्षभित्र एक लाखलाई रोजगारी सिर्जना गर्ने दाबी समेत गरेका छन् । उनले भने, ‘हामीले सक्ने कुरा गरेका छौं, क्यालकुलेशन गरेर नै मैले त्यो कुरा बोलेको हुँ, म अहिले बजेट कार्यान्वयनको कार्ययोजना बनाउन व्यस्त छु।’

मन्त्री बस्नेतले यो कार्यक्रमले जनताको जीवीकोपार्जनमा सुधार, राष्ट्रिय अर्थतन्त्रमा सुधार र रोजगारीको अवस्था समेत सिर्जना हुने बताए । उनले भने, ‘वन क्षेत्रलाई बहु–उपयोगी क्षेत्रको रुपमा विकास गर्छु, अब काठ आयात गर्ने परम्पराको अन्त्य गर्छु, वन पैदावर वस्तुहरु निर्यात गर्नेगरि अघि बढेको छु ।’

त्यस्तै उनले बाँस, सल्लो, अलैंची, अल्लो लगायतका वन पैदावरमा आधारित वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने पनि बताए। ‘नेपाल जडिबुटीको हब हो, यहाँका जडिबुटीहरुलाई व्यवस्थित् गर्छौं’, उनले भने ।

मुलुकमा व्यवस्था, अवस्था र परिस्थिति परिवर्तन भएपनि मान्छेको मनस्थिति अहिलेसम्म परिवर्तन नभएको बताउँदै उनले भने, ‘अब यो परिवर्तित अवस्थामा राजनीतिक दलहरु र सिँगो मुलुकका अंगहरु पनि परिवर्तन हुन जरुरी छ, मुलुक अब नयाँ युगमा प्रवेश गरेको छ, नेपाललाई समृद्ध बनाउने र सम्पूर्ण नेपालीहरुलाई सुखी बनाउने उद्देश्य पूरा गर्न सबै मिलेर अघि बढ्नुपर्छ, सरकार त्यो दिशामा लागिपरिरहेको छ ।’

मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार जुटेको बताउँदै उनले भने, ‘हामीसँग साधन तथा स्रोतहरु सिमित छन्, यसलाई अधिकतम् प्रयोग र कुशलताका साथ उपयोग गर्नुपर्ने चूनौति छ, त्यस्तै यो सरकार दिगो सरकार भएकोले जनताका धेरै ठूला–ठूला अपेक्षाहरु छन्, यो पनि आफैमा एउटा चूनौति हो, सबैको सकारात्मक प्रेरणाले नै समृद्धि हाँसिल हुने हो ।’

फरक प्रसँगमा मन्त्री बस्नेतले सरकारले पपुलिष्ट बजेट नल्याएको स्पष्ट पारे । उनले थपे, ‘यो सरकार विगतकोजस्तो ६ देखि ८ महिना मात्रैको लागि होईन, सरकारसँग बहुमत छ, हामीले पपुलिष्ट कुरा गरेका छैनौं, तर यो बजेटले नयाँ दिशा समातेको छ, समृद्धिको आधार वर्षको रुपमा बजेट आएको छ ।’