माओवादीभित्र प्रभाव बढाउँदै शक्ति बस्नेत, सुप्रिमो प्रचण्डको सद्भाव !

माओवादीभित्र प्रभाव बढाउँदै शक्ति बस्नेत, सुप्रिमो प्रचण्डको सद्भाव !


काठमाण्डु – नेकपा माओवादी केन्द्रभित्र उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनले समानान्तर रूपमा गुट चलाउँदै आएको तथ्य कसैसामु लुकेको छैन । यी दुवै समानान्तर गुटलाई व्यवस्थापन गर्दै ‘सुप्रिमो’ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको अखण्ड नेतृत्व सम्हाल्दै आएका छन् ।

प्रचण्डको नेतृत्वमाथि कहिलेकाहीँ उपमहासचिव जनार्दन शर्माले प्रश्न उठाउँदै आएका छन् । शर्माको गुटले ‘हेडक्वार्टर’लाई नै धक्का दिने हैसियत नै बनाउने हो कि भन्ने चिन्ता खुमलटारलाई छ । अर्का उपमहासचिव वर्षमान पुनले प्रचण्डविरुद्ध खुलेआम नबोले पनि भित्रभित्रै प्रचण्डलाई धक्का दिनसक्ने नेताका रुपमा चिन्ने गरिन्छ ।

पछिल्लोपटक अध्यक्ष प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई सक्रिय राजनीतिमा फर्काउन खोज्दा पार्टीभित्र विरोध भयो । विरोधको सामना गर्न नसकिने देखिएपछि प्रचण्डले नन्दबहादुरलाई सक्रिय राजनीतिमा फर्काउने योजना स्थगित गरेका छन् । तर फेरि जुनसुकै बेला पनि नन्दबहादुरको विषय चर्चामा आउनसक्छ, अध्यक्ष प्रचण्डले नन्दबहादुरलाई सक्रिय बनाउने अनुकूल समय हेरिरहेका बताइन्छ ।

अध्यक्ष प्रचण्डको योजनालाई नै प्रभावित पार्नसक्ने ‘शक्ति’ माओवादीभित्र सल्बलाइरहेका बेला अर्का उपमहासचिव शक्ति बस्नेतले पार्टीभित्र प्रभाव बढाएका छन्, त्यो पनि सुप्रिमो प्रचण्डको सद्भावमा । माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा भएको मतदानबाट बस्नेतनिकट अध्यक्ष पदका उम्मेदवार विजय प्रकाश सापकोटा निर्वाचित भएका छन् । उपमहासचिव जनार्दन शर्मानिकट उम्मेदवार हेमन्त राईलाई पराजित गर्दै सापकोटा बुधवार अध्यक्षमा निर्वाचित भएका हुन् ।

‘अखिल क्रान्तिकारीमा उमेर हद लागू भएपछि देशैभर व्यक्तिगत प्रभाव देखाउन सक्ने विद्यार्थी नेताको अभाव थियो, त्यस्तो अवस्थामा पार्टी नेताहरू नै सक्रियतापूर्वक मैदानमा उत्रिएका थिए, यो विद्यार्थीको चुनाव भएपछि नेताहरूकै प्रतिष्ठासँग जोडिएको थियो,’ माओवादीका एक केन्द्रीय सदस्यले भने । विद्यार्थी संगठनको चुनावले माओवादीभित्र उपमहासचिव शक्ति बस्नेतको प्रभाव बढेको देखाएको छ ।

पार्टीको गत महाधिवेशनबाट अध्यक्ष प्रचण्डले जनार्दन शर्मा शक्ति बस्नेत र वर्षमान पुनलाई रोकेर देव गुरुङलाई पार्टी महासचिव बनाएका थिए । तर महासचिव भइसकेपछि पनि उनले हेडक्वार्टरको रक्षा गर्न नसकेको र संस्थापनको गुट चलाउन नसकेको आरोप छ । यस्तो बेला खुमलटारले शक्ति बस्नेतलाई उपयुक्त पात्रको रूपमा देखेर उनीनिकट उम्मेदवारलाई अखिल क्रान्तिकारीको अध्यक्ष बनाउन सहयोग र सद्भाव व्यक्त गरेको स्रोतले जनाएको छ । ‘आगामी महाधिवेशनबाट अध्यक्ष प्रचण्डले उपमहासचिव शक्ति बस्नेतलाई पार्टी महासचिव बनाउनसक्ने सम्भावना देखियो,’ स्रोतले भन्यो, ‘अध्यक्ष कमरेडले पार्टीमा शक्ति बस्नेतलाई अगाडि बढाउँदा सुरक्षित भएको महसूस गर्नुहुन्छ ।’

उसो त माओवादीभित्र वैचारिक क्षमता भएका नेताका रूपमा चिनिएका बस्नेतले माओवादीभित्र संगठन निर्माणमा ध्यान नदिएको र कार्यकर्ताको संरक्षण गर्न नसकेको आरोप लाग्ने गरेको छ । तर बस्नेतले पछिल्लो समय पार्टी संगठनमा प्रभाव बढाउँदै लगेको बताइन्छ । बस्नेत गृह, ऊर्जा र वनमन्त्री भइसकेका नेता हुन् । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेता बस्नेत र अर्का नेता जनार्दन शर्माबीच चर्को प्रतिस्पर्धा छ । बस्नेतसँग अर्का नेता वर्षमान पुनको भने निकट सम्बन्ध छ ।

अखिल क्रान्तिकारी निर्वाचनमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवहरू शक्ति बस्नेत, जनार्दन शर्मा र वर्षमान पुन विभाजित थिए । सुरुमा शर्मा र पुन मिलेर चुनावमा जाने चर्चा चले पनि अन्तिममा दुवैले अलग–अलग उम्मेदवार उठाएका थिए । पुनका उम्मेदवार सुदिन पौडेल चौथो स्थानमा आएका छन् । माओवादी अध्यक्ष दाहालनिकट नेताहरू शर्माका उम्मेदवारलाई हराउन लागेको माओवादीभित्र चर्चा छ ।

माओवादीमा शर्मा निकट नेताहरूले भने बस्नेतले हेडक्वार्टरको नाम दुरुपयोग गरेर आफ्नो उम्मदेवारलाई जिताउन खोजेको आरोप लगाएका थिए । तर बस्नेतले भने आफूले उठाएका उम्मेदवारलाई जिताउन सकिने रिपोर्ट पार्टी अध्यक्ष दाहाललाई दिएको माओवादी स्रोत बताउँछ । सापकोटा अध्यक्षमा विजयी भएसँगै उनको विश्लेषण सही सावित भएको उनीनिकट एक नेताको दाबी छ ।

अध्यक्षमा बस्नेत निकट नेता विजयी भए पनि पदाधिकारीमा शर्मा निकटको व्रर्चश्व छ ।

अध्यक्ष दाहालले समर्थन गरेका उम्मदेवार पराजित भए त्यसले अध्यक्षविरुद्ध नै नकरात्मक सन्देश जाने भन्दै बस्नेतनिकट सबै नेता उम्मेदवार सापकोटालाई जिताउन लागेका थिए । यसमा खासगरी पूर्व अध्यक्षहरू रमेश मल्ल, पञ्चा सिंह र हिमाल शर्माको मुख्य भूमिका थियो । नेताहरू कृष्णबहादुर महरा, अग्नि सापकोटादेखि हितराज पाण्डे समेत सक्रिय ढंगले लागेका थिए ।
यसअघि उपमहासचिव शर्माका भाई अनिल शर्मा अखिल क्रान्तिकारीको अध्यक्षको उम्मेदवार हुँदा पुन र बस्नेत मिलेर लडेका थिए । त्यसबेला पुनका उम्मेदवार रञ्जित तामाङलाई बस्नेतको समर्थन थियो । तर बस्नेतका उम्मेदवार खेम सिंह भने महासचिवमा पराजित भएका थिए । अनिल अध्यक्षमा पराजित भएसँगै तीनै नेताबीचको सम्बन्धमा चिसोपना आएको थियो ।

नेकपाको गठनमा माओवादी उपमहासचिव शर्मा एकातिर थिए भने पुन र बस्नेत अर्कोतिर थिए । अध्यक्ष दाहालले त्यसबेला शर्मालाई अघि बढाएका थिए । पछि शर्माविरुद्ध बस्नेत र पुनसहित अधिकांश नेता कार्यकर्ता एक ठाउँमा आएसँगै दाहालले पुनलाई उर्जा र बस्नेतलाई वनमन्त्री बनाएका थिए । माओवादी अध्यक्ष दाहालले तिनै नेतालाई समदुरीमा राखेर अवसर पनि समान ढंगले दिएका छन् । तिनै नेता माओवादीमा कृष्णबहादुर महरापछि सबैभन्दा बढी लाभ लिने नेताका रूपमा चिनिन्छन् ।