मकवानपुर – नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेललाई राजीनामा दिन आग्रह गरेको छ । दलका नेता जगन्नाथ थपलियाले मंगलबार विज्ञप्ति जारी गर्दै सरकारलाई दूरगामी महत्व राख्ने निर्णय नगर्नसमेत आग्रह गरेका छन् ।
थपलियाले विज्ञप्तिमा लेखेका छन्, ‘देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील छौं । यसका लागि नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वको वर्तमान सरकारबाट हाम्रो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने ५ मन्त्रीहरुले हिजो माननीय मुख्यमन्त्रीलाई भेटेर राजीनामा तथा समर्थन फिर्ताको औपचारिक जानकारी गराइसकेका छौं ।’
विज्ञप्तिमा सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजीनामामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गरिएको छ ।
प्रतिक्रिया