माधव नेपाल र प्रचण्डमा राजनीतिक विचलन र चरम अवसरवाद देखियो : महासचिव पोखरेल

माधव नेपाल र प्रचण्डमा राजनीतिक विचलन र चरम अवसरवाद देखियो : महासचिव पोखरेल


काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूलाई कम्युनिष्ट भन्ने नेताहरू कम्युनिष्ट पार्टीको सरकार ढालेर पार्टी विभाजन गरी कांग्रेस नेतृत्वमा सरकार बनाउने तहसम्म पुगेको स्मरण गराएका छन् ।

नेकपा एमाले पेशागत विशेष जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनलाई शनिबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै उनले मार्क्सवादी क्रान्तिकारी भनिएकाहरूको विचलन चानचुने नभएको बताए ।

‘हामीले जित्न नसके पनि एमालेलाई हराएर अहिलेको गठबन्धनलाई गुन लगाएका छौं भनेर माधव नेपाल भाषण गर्दै हिँड्नुभएको छ,’ उनले भने, ‘अहिलेको गठबन्धनमा माधव नेपालले त्यसैको अंश मागिरहनुभएको छ । १५–१५ वर्ष एमाले पार्टीको महासचिव भएको मान्छे एमालेलाई हराएकोमा गर्व गर्दछन्, आफूले जितेको होइन एमालेलाई हराएकोमा गर्व गर्दछन्, यसैलाई भन्छन् विचलन, यसैलाई भन्छन् अवसरवाद ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आज एमालेभन्दा कांग्रेसलाई मित्र ठान्ने गरेको उनले बताए । त्यसैले चरम अवसरवादका कारण उनमा पनि राजनीतिक विचलन आएको पोखरेलको भनाइ छ ।

उनले आज जनताले नरुचाएका शक्तिहरूले गठबन्धन बनाएर शासन गरिरहेका बताए । जनताले सबैभन्दा बढी रुचाएको शक्ति नेकपा एमाले सत्ताबाहिर रहेका कारण जनतामा निराशा बढेको उनको भनाइ छ । ‘जनताले रुचाएको शक्तिले शासन गर्न नपाउने कुरा लोकतन्त्रमा सबैभन्दा घातक हो,’ उनले भने ।

विचार र सिद्धान्त मिल्ने बीचको तालमेल स्वाभाविक भए पनि गएको चुनावमा विचार, गन्तव्य र सिद्धान्त नमिल्नेहरूले गठबन्धन गरेका पोखरेलले बताए । विचार नमिल्ने बीचको गठबन्धन सबैभन्दा अवसरवादी भएको उनले प्रष्ट पारे । विचार नमिल्नेसँग गरिएको त्यस्तो गठबन्धनलाई उनीहरूले ठूलो उपलब्धि ठानेका पोखरेलले टिप्पणी गरे ।

यी सबै खालका अवसरवादलाई पराजित गर्न बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको पोखरेलले बताए । जनतामा देखिएको निराशा चिर्न र अवसरवादलाई पराजित गर्न नेकपा एमालेले मिसन २०८४ भनेको उनले बताए ।

नेकपा एमालेले चलाएको समृद्धिका लागि संकल्प यात्राले सामाजिक अराजकता चिर्न सहयोग पुगेको उनले बताए । यसले जनतामा बढेको निराशा चिर्न पनि सहयोग गरेको उनले सुनाए । पार्टीलाई थप कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न पार्टी केन्द्रीय कमिटी बैठक बस्न लागेको पोखरेलले प्रष्ट पारे ।

पार्टीभित्र पनि शुद्धीकरण अभियान चलाउन आवश्यक रहेको निष्कर्षमा नेकपा एमाले पुगेको उनले बताए । नेकपा एमालेको केही खस्किएको आधारलाई बलियो बनाउन पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान आवश्यक रहेको उनले स्पष्ट पारे । पार्टीभित्र देखिएको अस्वस्थ प्रतिस्पर्धालाई हटाउन नसक्ने हो भने पार्टीले समाजको विश्वास र भरोसा जित्न नसक्ने उनले बताए ।