एमालेको भविष्य युवासँग जोडिएको छ : महासचिव पोखरेल

एमालेको भविष्य युवासँग जोडिएको छ : महासचिव पोखरेल


काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्य युवासँग जोडिएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले भविष्यमा राष्ट्रिय युवासंघ नेपाललाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर भएर योजना बनाउन आग्रह गरे ।

उनले यसअघिको कार्ययोजनाको पनि समीक्षा गर्न सुझाव दिए ।

महासचिव पोखरेलले मुलुकको नेतृत्व गर्ने नेकपा एमाले भएकोले एमाले र यसका जनसंगठनलाई व्यवस्थित ढंगले अघि बढाउनुपर्ने बताए । एमालेको भविष्यबाट आतंकित भएकाहरू मोर्चाबन्दी गरेर एमालेलाई कमजोर पार्ने षड्यन्त्रमा लागिरहेकाप्रति उनले युवालाई सचेत गराए । ‘एमाले चौतर्फी घेराबन्दी र आक्रमणबाट गुज्रिरहेको छ, त्यसलाई डटेर सामना गर्न सक्नुपर्छ, एमालेको भविष्यबाट आतंकित भएकाहरू मोर्चाबन्दी गरेर एमालेलाई कमजोर पार्ने षड्यन्त्रको मतियार बनिरहेका छन्,’ उनले भने ।

पोखरेलले अहिले राष्ट्रिय राजनीति संकटपूर्ण अवस्थामा रहेको बताए । राष्ट्रिय राजनीति अहिले अतितरल र अस्थिर रहेकोप्रति गम्भीर हुनुपर्नेमा उनले जोड दिए । ‘राष्ट्रिय राजनीतिलाई सही बाटोमा अघि बढाउन चुनौती छन्,’ उनले भने ।

पोखरेलले राजनीतिमा युवाहरूको संख्या निकै कमजोर रहेको बताए । यो स्थितिलाई बदल्नुपर्ने पोखरेलको जोड छ । बहुसंख्यक युवाको मत एमालेलाई झार्ने गरी स्थिति बदल्नुपर्ने उनको धारणा छ ।

यसका लागि युवा लक्षित सही नीति र योजना बनाउनुपर्ने उनले बताए । युवालाई आकर्षण गर्ने योजना नबनाउने हो भने युवालाई एमालेमा ल्याउन नसकिने उनको धारणा छ । युवालाई कसरी संगठन र पार्टीमा ल्याउन सकिन्छ भन्ने विषयमा सोच–विचार गरेर काम गर्न उनले राष्ट्रिय युवा संघ नेपाललाई आग्रह गरे ।

राजनीतिप्रतिको समर्पणभाव र लगाव आज कमजोर बन्दै गएको उनले बताए । राजनीतिक परिवर्तन भइसकेकाले अब समर्पण र लगाव आवश्यक छैन भन्ने खालको भाव विकास भएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

राजनीतिक परिवर्तन समाज परिवर्तनको साध्य नभएर साधन मात्र भएको पोखरेलले प्रष्ट पारे । ‘हामीले जबसम्म समाज परिवर्तन गर्न सक्दैनौं, तबसम्म क्रान्तिकारी भाव निर्माण गर्नुको कुनै अर्थ छैन,’ उनले भने ।

समृद्ध र स्वाधीन देश बनाउन युवाले देशमा नै अवसर खोज्नुपर्ने उनले बताए । देशमा भविष्य नदेख्ने र विदेश दौडिने युवाले समृद्ध र स्वाधीन देश बनाउन नसक्ने उनको धारणा छ ।