कांग्रेस–एमाले सधैंभरिका लागि मिलेका होइनन् : महासचिव पोखरेल

कांग्रेस–एमाले सधैंभरिका लागि मिलेका होइनन् : महासचिव पोखरेल


काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार अप्राकृतिक भनि भ्रम फिँजाउने काम भइरहेको बताएका छन् ।

राष्ट्रिय युवासंघ नेपालले आयोजना गरेको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्नुपर्ने र ती दलले शासन गर्ने कुरा प्राकृतिक भएको प्रष्ट पारे । जनताले अस्वीकार गरेका दलहरू शीर्ष स्थानमा रहने कुरा अप्राकृतिक भएको उनले बताए ।

कांग्रेस–एमाले सधैंभरिका लागि नमिलेका पनि उनले स्पष्ट पारे । जनताको बीचमा जाने बेलामा नेकपा एमाले र नेपाली कांग्रेस कसैको बैसाखी नटेकी निर्वाचनमा जाने उनले बताए ।

देश बनाउनका लागि धेरै राजनीतिक दल होइन, ठूला र बलिया राजनीतिक दल आवश्यक रहेको उनले बताए । ठूला र बलिया दलले मात्र मुलुकमा विकास र समृद्धिको काम गर्न सक्ने पोखरेलले स्पष्ट पारे ।

एमाले पार्टीको नीति एमालेको मात्र नीति बनेर देश अघि नबढ्ने उनले बताए । एमालेको नीति मुलुकको नीति बन्नुपर्ने पोखरेलले स्पष्ट पारे । त्यसका लागि एमालेको नीति मिसन २०८४ र एमालेको एकल बहुमतको सरकार भएको पोखरेलले बताए ।

नयाँ पुस्तालाई राजनीतिसँग जोड्न नसक्ने राजनीतिक दलले देशका लागि काम गर्न नसक्ने उनले बताए । नेकपा एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको पोखरेलले स्पष्ट पारे । ‘अबको युग युवाको युग हो, युवाको साथमा नेकपा एमाले छ,’ उनले भने ।

देशलाई बलिया राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व आवश्यक रहेको पोखरेलले बताए । त्यो क्षमता नेकपा एमाले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मात्र रहेको उनले स्पष्ट पारे । ‘हामी केपी ओलीको नेतृत्वमा नेपाललाई समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने अभियान चलाउन चाहन्छौं,’ उनले भने ।

आज राष्ट्र निर्माण गर्ने व्यक्ति केपी ओलीमाथि चौतर्फी हमला भइरहेको उनले बताए । त्यो संकट समाधानका लागि राष्ट्रिय युवासंघ नेपाललाई अग्रमोर्चामा उभिन उनले आग्रह गरे । देशको सार्वभौम स्वाधीनता रक्षाका लागि नेपाली युवा जाग्नुपर्नेमा पोखरेलले जोड दिए ।

एमाले र केपी ओलीमाथि नराम्रो काम गरेको कारण हमला नभएको उनले बताए । नेपाललाई असफल गराउन चाहनेहरूले एमाले र केपी ओलीमाथि हमला गरिरहेको पोखरेलले बताए ।

उनले जहाँ संकट हुन्छ, त्यहाँ समाधान हुने बताए । त्यसैले केही गर्छु भन्ने युवालाई देशमा नै सम्भावना भएको उनले बताए । नेपाल हामी आफैं बनाउने भावनाका साथ युवा जाग्नुपर्ने र लाग्नुपर्नेमा उनले जोड दिए ।

समाजलाई अघि बढाउन समाजमा आशा जगाउनुपर्ने बताउँदै उनले एमाले अध्यक्ष केपी शर्मा ओली आशाको संवाहक भएको बताए । एमाले अध्यक्ष केपी ओलीले देखेका सपना आज व्यवहारमा बदलिँदै गएका पोखरेलले स्पष्ट पारेका छन् ।