सानाले ठूला पार्टीमाथि शासन गर्न लागेपछि कांग्रेस–एमाले मिल्यौं : महासचिव पोखरेल

सानाले ठूला पार्टीमाथि शासन गर्न लागेपछि कांग्रेस–एमाले मिल्यौं : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको राजनीतिमा साना पार्टीले ठूला पार्टीमाथि शासन गर्न लागेपछि कांग्रेस र एमाले मिलेको बताएका छन् ।

नेकपा एमाले विराटनगर महानगर कमिटीको जरा केन्द्रित अभियान उद्घाटन तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार मोरङको विराटनगरमा सम्बोधन गर्दै ३२ सिटे पार्टीले पाँचै वर्ष शासन गर्ने कुरा गर्न लागेपछि २ ठूला दल मिल्न बाध्य भएका बताए ।

राजनीतिक अस्थिरता मच्चाएर त्यहीँ अस्थिरतामा खेल्ने काम भएपछि अस्थिरतालाई रोक्न बलिया पार्टी मिल्नुपरेको उनले सुनाए । नेपालमा राजनीतिक अस्थिरताको हाबी भएपछि संविधान परिवर्तन गरेर भए पनि स्थायित्व प्रदान गरी नागरिकको निराशा चिर्नुपर्छ र देशलाई समृद्धिको बाटोमा अघि बढाउनुपर्छ भनेर २ दल एक ठाउँमा उभिनुपरेको उनले बताए ।

‘आज जनतामा जुन प्रकारको निराशा छ, कुण्ठा छ, युवा पलायन छ, यो कुरालाई रोक्न नसक्ने हो भने हामीले ल्याएको परिवर्तनलाई जोगाउन सकिन्छ र ?’ उनले प्रश्न गरे ।

वर्तमान सरकार नबन्दासम्म सडकमा एकखालका रमिता सुरु भएको उनले स्मरण गराए । ‘राजा आऊ देश बचाऊ’ भन्ने नारा समेत विगतमा सडकबाट लागेको उनले स्मरण गराए । ‘मुलुकलाई निराशाबाट जोगाउन नसके प्रतिगमनतर्फ जान लागेको राजनीतिलाई फर्काउन सकिँदैन भन्ने अठोटका साथ हामी मिलेका हौं,’ उनले भने ।

कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि व्यवसायीहरूमा उत्साह बढेको उनले बताए । उद्योगी व्यवसायीहरूले यो सरकार बनेपछि सोचेभन्दा पनि राम्रो काम भएको भनेर खुल्ला रूपमा नै भन्न लागेको उनले सुनाए ।

एमाले र कांग्रेसको अहिले संयुक्त सरकार भए पनि आउने निर्वाचनमा २ दल अलग–अलग चुनाव लड्ने उनले बताए । त्यसैले एमाले संगठन निर्माणको अभियानमा लागेको उनले प्रष्ट पारे । अभियानलाई सफल पार्न गाउँ केन्द्रित अभियान सुरु गरिएको उनले बताए । अभियान नेता–कार्यकर्ताको कामको मूल्यांकन गर्ने अभियान पनि भएको पोखरेलले स्पष्ट पारे । समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि पार्टीले गर्न सक्दछ भन्ने विश्वास नागरिकलाई जगाउनुपर्ने उनले बताए । नागरिकको पार्टीप्रतिको आकर्षण कामबाट नै बढाउनुपर्नेमा पोखरेलले जोड दिए ।

जनताले भोगिरहेको समस्या समाधान गर्ने गरी योजना बनाएर काम गर्न पोखरेलले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । ‘कुन वडामा के गर्ने भन्ने सोच र दृष्टिकोण बनाउनुपर्छ, यसो गर्दा मात्र जनता पार्टीसँग जोडिन्छ,’ उनले भने ।

जनतालाई राजनीतिमा जोड्ने हो भने जनतासँग बसेर उनीहरूका समस्यामाथि केन्द्रित रहेर छलफल गर्नुपर्ने पोखरेलले बताए । अहिलेको जरा केन्द्रित अभियान यसैमा केन्द्रित रहेको स्पष्ट पारे ।

नीति र नेतृत्वको एकताले मात्रै पार्टीले सफलता प्राप्त गर्न नसक्ने बताउँदै उनले यसको लागि समग्र पार्टीभित्र नै एकता आवश्यक रहेको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली राजनीतिमा सबैभन्दा बढी योगदान गरेको, इतिहासलाई वस्तुनिष्ठ ढङ्गले मूल्यांकन गर्ने सक्ने, नेपाली समाजलाई सबैभन्दा गहिरो गरी बुझ्न सक्ने र इतिहासलाई वस्तुनिष्ठ ढङ्गले बुझ्न सक्ने नेता भएको बताउँदै पोखरेलले सिङ्गो पार्टी एकढिक्का भएर उनलाई स्थापित गर्नुपर्ने बताए । यस्तो सामथ्र्य भएको नेता पार्टी अध्यक्ष भएको अवस्थामा नेकपा एमाले मिसन २०८४ लिएर अघि रहेको पोखरेलले स्पष्ट पारे । यस्तो बेला पार्टीभित्र माथिदेखि तलसम्म थप एकता आवश्यक रहेको स्पष्ट पारेका छन् ।