शिक्षकका मागलाई ध्यानमा राखेर राज्यले शिक्षा ऐन जारी गर्छ : महासचिव पोखरेल

शिक्षकका मागलाई ध्यानमा राखेर राज्यले शिक्षा ऐन जारी गर्छ : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले संघीयता र संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने कानूनहरू वर्तमान सरकारले बनाएर अघि बढ्ने बताएका छन् ।

शिक्षकहरूको माग सम्बोधनको लागि दबाब दिन नेपाल शिक्षक महासंघले नेकपा एमाले केन्द्रीय कार्यालयमा बुधबार आयोजना गरेको धर्ना बस्न गएका शिक्षकहरूलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यसकै लागि देशका २ प्रमुख पार्टी मिलेर सरकार बनाएको बताए । यसलाई तदारुकता साथ अघि बढाउने गरी सरकार लागेको पोखरेलले प्रष्ट पारे ।

‘राज्यले शिक्षकहरूको मागलाई ध्यानमा राखेर, संविधानको भावनालाई आत्मासाथ गर्दै शिक्षा ऐन जारी गर्छ, यो विषयलाई यही सदनमा टुंग्याउन पाए हुन्थ्यो भनेर हामी आफैं लागिरहेका छौं,’ उनले भने ।

ऐनमा समेट्ने विषयमा एकमत बनाउनका लागि सबैको प्रयास आवश्यक पर्ने उनले बताए । कुन–कुन विषयमा कसरी जाने भन्ने विषयमा एकमत बनाउने कुरा धर्नाभन्दा महत्त्वपूर्ण हुने उनले बताए । ‘तपाईंहरूको साथमा हामी छौं, चिन्ता गर्नुपर्ने स्थिति छैन,’ पोखरेलले भने ।

शिक्षकहरूको नेतृत्वमा बस्ने नेताहरूले आफ्ना विद्यालय राम्रो बनाउन लाग्नुपर्ने पनि पोखरेलले बताए । ‘नेताहरूले जिम्मा लिएका विद्यालय राम्रा बनाउनुपर्छ, यसबाट अरूले पनि पाठ सिक्छन्,’ उनले भने ।

नेपालमा राजनीतिभित्र राजनीति प्रवेश गराउने प्रयत्न हुने गरेका भन्दै उनले राजनीतिमा राजनीति प्रवेश गर्न दिनु नहुने बताए । नेपालमा राजनीति दलले शिक्षामा समस्या ल्याए भन्ने गलत कुरा भइरहेको बताउँदै उनले अहिले शिक्षा क्षेत्रमा भएको विकास राजनीतिको योगदान हो भन्ने कुरा बिर्सिन नहुने बताए ।

पोखरेलले परम्परागत शिक्षा प्रणालीलाई उद्यमशीलता र जीवन जिउने शिक्षामा परिवर्तन गराउनुपर्ने बताए । नेपालको शिक्षाले अब सीपयुक्त र व्यावहारिक जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए । शिक्षाले नागरिक कर्तव्य सहितको जनशक्ति उत्पादन गर्नुपर्नेमा उनले जोड दिए ।