शंकर पोखरेलको टिप्पणी-एमालेको चिन्ता अरुले गर्नुपर्दैन

शंकर पोखरेलको टिप्पणी-एमालेको चिन्ता अरुले गर्नुपर्दैन


काठमाण्डु-एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सोमवार स्टाटस लेख्दै उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै एमाले बलियो र निर्णायक शक्ति निर्माणमा जुटेको बताए ।

सामाजिक सञ्जालमा एमालेबारे विभिन्न टिप्पणीहरू भइरहेका बेला उनले लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले) को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि ! एमालेलाई कस्तो बनाउने एमाले जनलाई नै छोडिदिनु न । जनता के चाहन्छ? र राष्ट्रको आवश्यकता के हो? नेकपा (एमाले) लाई राम्ररी थाह छ । त्यही भएर नै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत छ। बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ ।’

उनले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले भन्दा पनि आवधिक निर्वाचनले गर्ने र एमाले त्यसका लागि हरदम तयार रहेको पनि बताएका छन् ।