काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको औंल्याएका छन् ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय संगठन विभागको आयोजनामा ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक २ दिने कार्यशालाको शनिबार उद्घाटन गर्दै उनले पार्टीको नीति जनतासम्म पुर्याउन तथा वैचारिक राजनीतिक संघर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताए ।
महासचिव पोखरेलले अहिले पार्टीको जुन ढंगले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति बनाउन कठिन हुने टिप्पणी गरेका छन् ।
उनले हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताए ।
महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले पार्टी निर्माणमा सहयोग गर्नुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्ने बताए ।
पार्टीको वार्षिक कार्ययोजनाबारे अभिमुखीकरण गर्दै पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधारहरू र सम्पादित कामबारे उनले सहभागीको ध्यानाकर्षण गराए ।
महासचिव पोखरेलले मिसन २०८४ मा आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको बताए ।
पार्टी सदस्यता नवीकरण सर्वाधिक महत्वपूर्ण काम भएको भन्दै महासचिव पोखरेलले पार्टी कमिटीले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्वका साथ काम नगरेको बताए ।
प्रतिक्रिया