गठबन्धन सरकारका कारण देश संकटमा पर्‍यो : महासचिव पोखरेल

गठबन्धन सरकारका कारण देश संकटमा पर्‍यो : महासचिव पोखरेल


काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण देश संकटमा परेको बताएका छन् ।

नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार चौतारा सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारको नीतिका कारण राज्य टाट पल्टिने तर सरकारको निकटका एक जना उद्योगी अर्बपति बन्ने स्थिति आएको बताए । सरकारले लिएको गलत अर्थनीतिका कारण यस्तो भएको पोखरेलको भनाइ छ ।

यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको उनले बताए । नेकपा एमाले आफ्नो विचारमा स्पष्ट भएकाले देशलाई निकास दिन सक्ने पोखरेलले दाबी गरे ।

माओवादीलाई चुनावमा भाग नै नलिई सांसदमा भाग दिएर तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राजनीतिक अस्थिरताको बिउ रोप्ने काम गरेको उनले बताए । ‘अहिलेको अस्थिरता र निराशाको एउटा कारण यो पनि हो,’ उनले भने ।

राजनीतिक परिवर्तन सफल भयो भनेर अहिले सुतेर बस्ने बेला नभएको उनले बताए । ‘अब राजनीतिक क्रान्ति सफल भयो भनेर आराम गरेर सुतेर बस्ने बेला हो त ? अब नेतृत्व हासिल गरी समाज परिवर्तनको दिशामा अघि बढ्नुपर्छ,’ उनले भने ।

महासचिव पोखरेलले नेकपा एमालेका चुनौती के हुन् र अबको बाटो के हो भन्ने कुरा स्पष्ट भएको बताए । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटले यी सबै कुरा क्लीयर गरेको पोखरेलले प्रष्ट पारे । पार्टीमा अहिले विचारका, संगठनात्मक प्रणाली, राजनीतिक मुद्दा कुनै पनि विषयमा मतभेद नभएको बताए । ‘त्यसमा हामी एक ठाउँमा छौं,’ उनले भने ।