प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखियो : महासचिव पोखरेल

प्रचण्डमा तीव्र निराशा र छटपटाहट देखियो : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा तीव्र निराशा र छटपटाहट देखिएको दाबी गरेका छन् ।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै महासचिव पोखरेलले माओवादीले जनादेश गुमाउँदै जाँदा प्रचण्डमा निराशा देखिएको टिप्पणी गरे ।

‘वास्तवमा सरकारको नेतृत्वमा रहँदा प्रचण्डले अवलम्बन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको हो । यो क्रम निरन्तर जारी छ । त्यसको हेक्का भएर नै प्रचण्डमा यतिबेला तीव्र निराशा र छटपटाहट देखिन थालेको छ,’ उनले लेखेका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेसको सहयोगमा सत्ता समीकरणको कथित म्याजिक नम्बर पाउन सफल माओवादी अध्यक्ष प्रचण्डले ती दलहरूको सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा ती दल ठूला भएको हास्यास्पद दावी गरेको उनको टिप्पणी छ ।

उनले लेखेका छन्, ‘साँच्चै नेपालको राजनीतिलाई विकास र समृद्धिका लागि राजनीतिक अस्थिरताको दुश्चक्रबाट मुलुकलाई बाहिर निकाल्ने हो राजनीतिक ध्रुवीकरणको बाटोमा जानु आवश्यक छ । त्यसका लागि अब आउने चुनावमा सबै राजनीतिक दलले आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नु पर्दछ । यस्तो भएमा कथित म्याजिक नम्बरको नाममा साना दलले ठूला दलहरूमाथि शासन गर्ने स्थित अन्त्य हुनेछ ।’

अध्यक्ष प्रचण्डले माओवादीको सहयोगमा अन्य दलहरू ठूला दलहरू बनेको दाबी गरेपछि महासचिव पोखरेलको टिप्पणी आएको हो ।