काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पुस्तामा परिवर्तनको अनुभूति हस्तान्तरण गर्न नसकिएको बताएका छन् ।
मानव अधिकार रक्षकहरूको पाँचौं राष्ट्रिय सम्मेलन एवं राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) को छैठौं राष्ट्रिय महाधिवेशन समारोहलाई बुधबार काठमाण्डुमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले समाजमा निराशा, असन्तुष्टि र अराजकता उत्पन्न हुनुको कारण त्यहीँ भएको बताए ।
‘आफूले गरेको काम समाजमा सम्प्रेषण गर्ने कुरामा हामी चुकेका छौं,’ उनले भने ।
राजनीतिक र सामाजिक क्षेत्रमा गरेको कामको अनुभूति नयाँ पुस्तालाई गराउने कुरामा पार्टी र सामाजिक संस्था चुकेको उनले बताए । आफ्नो समयमा गरेको काम सही ढङ्गले सम्प्रेषण गर्न नसक्दा असन्तुष्टि बढेको उनले बताए ।
कुनै पनि राष्ट्रको समृद्धि र विकासको लागि बलिया राजनीतिक दल आवश्यकता रहेको उनले बताए । यसको लागि जनमतलाई ध्रुवीकरण गर्नुपर्ने पोखरेलले बताए । ‘त्यसकारण अब नेपाली समाजमा धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल आवश्यक पर्दछ, धेरै संघ संगठन होइन, बलियो संगठित शक्ति आवश्यक पर्दछ,’ उनले भने ।
राष्ट्र निर्माणको लागि हिजो जसरी चलियो, अब त्यसरी काम गरेर नहुने उनले बताए । अब नयाँ ढङ्गले बलियो राजनीतिक शक्ति निर्माण गरेर अघि बढ्न जरुरी रहेको पोखरेलले स्पष्ट पारे ।
समाजलाई अघि बढाउन नागरिक कर्तव्य सहितको अधिकारको अवधारणा अघि बाउन पर्नुमा उनले जोड दिए । नागरिक कर्तव्य विनाको अधिकार अराजक हुने पोखरेलले स्पष्ट पारे ।
जनतासँग नजोडिएको राजनीतिले मुलुकको विकास र समृद्धि गर्न नसक्ने उनले बताए । मुलुकको विकासको लागि व्यक्ति मात्र बलियो भएर नहुने बताउँदै उनले त्यसको लागि राज्य बलियो हुनुपर्ने स्पष्ट पारे ।
नेपालको राजनीतिमा महिलाको सहभागिता शतप्रतिशत हुनसक्ने कानूनी प्रबन्ध रहेको बताउँदै पोखरेलले व्यवहारमा त्यो ३३ प्रतिशत मात्र सीमित रहेको बताए । अधिकार दिएर मात्र नहुने बताउँदै उनले त्यो आर्थिक र सामाजिक कुरामा केन्द्रित हुने स्पष्ट पारे । त्यसैले अबको लक्ष्य आर्थिक सामाजिक परिवर्तनको दिशामा केन्द्रित हुनुपर्ने पोखरेलले धारणा राखे ।
नेपालमा राजनीतिक स्थायित्वको लागि पुराना र ठूला राजनीतिक दललाई नै थप बलिया बनाउनुपर्नेमा पोखरेलले जोड दिए । नेपालका राजनीतिक दलले काम गर्ने मौका नै नपाएको कारण सोचे जस्तो काम गर्न नसकेका पोखरेलले स्पष्ट पारे । ‘लोकतन्त्रको लागि लडेका दललाई कमजोर बनाइयो भने देश बन्दैन,’ उनले भने ।
राजनीतिक दलहरूले शासन गरेको समयमा पनि राजनीतिक अस्थिरताको कारण काम गर्ने वातावरण नै नबनेको उनले बताए । ३२ सिटे दलले ठूला पार्टीमाथि शासन गर्ने अवस्थाले देश अस्थिरताको भुमरीमा फसेको उनले बताए । त्यसैलाई सदाको लागि अन्त्य गर्न २ ठूला राजनीतिक दल एक ठाउँमा आउनुपरेको पोखरेलले स्पष्ट पारे ।
७ बुँदे सहमतिका जगमा कांग्रेस र एमालेको सरकार बनेको पोखरेलले स्पष्ट पारे । देशको विकास र समृद्धिको लागि नियन्त्रणकारी कानून होइन, सहजीकरण गर्ने कानून बन्नुपर्छ भनेर अहिलेको सरकारले कानूनी र शासकीय सुधारको काम अघि बढाएको पोखरेलले बताए । देशलाई स्थायित्वतर्फ लैजानुपर्छ भन्ने कुरामा कांग्रेस र एमाले स्पष्ट रहेका पनि पोखरेलले जानकारी दिए ।
दुईतिहाइ बहुमत नहुँदासम्म संविधान संशोधन हुन नसक्ने बताउँदै पोखरेलले कांग्रेस र एमाले त्यसैको पर्खाइमा रहेको बताए । अब एक डेढ वर्षपछि राष्ट्रिय सभामा निर्वाचन हुँदा कांग्रेस र एमालेको दुईतिहाइ बहुमत पुग्ने र सोही मतले संविधान संशोधन गर्ने पोखरेलले स्पष्ट पारे ।
जनताको बीचमा पार्टीलाई स्थापित गराउने आधार पार्टीका जनसंगठन नै भएका पोखरेलले बताए । त्यसको लागि वडा केन्द्रित अभियान पार्टीले चलाई रहेको उनले स्पष्ट पारे । महाधिवेशन सकिने बित्तिकै मानव अधिकार एलाइन्सलाई पनि जरा केन्द्रित अभियानमा केन्द्रित हुन पोखरेलले निर्देशन दिए ।
प्रतिक्रिया