कांग्रेसकै कारण बारम्बार प्राप्त उपलब्धि गुम्यो : शंकर पोखरेल

कांग्रेसकै कारण बारम्बार प्राप्त उपलब्धि गुम्यो : शंकर पोखरेल


काठमाण्डु – नेकपा एमालेको महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रमका कारण नेकपा एमाले जनताको बीचमा स्थापित भएको बताएका छन् ।

नेकपा एमाले रामेछाप जिल्ला स्कूल विभागले सोमबार मन्थलीमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै पोखरेलले पार्टीलाई थप बलियो बनाउन दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई परास्त गर्नुपर्ने बताए ।

जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माणको लागि दक्षिणपन्थी अवसरवाद र सांगठनिक अराजकतालाई समाप्त गर्नुपर्नेमा उनले जोड दिए ।

वैचारिक र राजनीतिक काम कम गर्न लागेपछि एउटा इमान्दार क्रान्तिकारी पनि बिग्रिने पोखरेलले बताए । पार्टी प्रधान नभएर अमुक नेता प्रधान बनेपछि नेता, कार्यकर्तामा विचलन आउने र पार्टी समाप्त हुने उनले बताए । नेकपा एमालेबाट माधव नेपालहरू छुट्टिँदा धेरै मान्छेहरूले पार्टीभन्दा व्यक्ति रोजेका कारण फरक धारमा लागेका उनीहरू समाप्तिको बाटोमा उन्मुख भएका उनले स्पष्ट पारे ।

नेकपा बनाएपछि पार्टीको काम ठप्प भएका कारण केही मान्छेहरू बिग्रिएका उनले बताए । तिनै बिग्रिएका मानिसले पार्टी फुटाउने काम गरेको उनले बताए । यतिबेला माधव नेपाल आफूले जित्न नसके पनि एमालेलाई हराएर गठबन्धनको बहुमत पुर्‍याउन सकेकोमा गर्व गर्दै हिँडेका पोखरेलले टिप्पणी गरे ।

पोखरेलले नेपालको निर्णायक आन्दोलनमा कांग्रेस सँगै भए पनि आन्दोलनबाट प्राप्त उपलब्धि संस्थागत गर्ने कुरामा चुक्ने गरेको बताए । कांग्रेसकै कारण बारम्बार प्राप्त उपलब्धि गुमेको उनले टिप्पणी गरे ।

‘कांग्रेसको नियत कहिल्यै सफल रहेन,’ उनले भने । नेपालको राजनीति बीपीको मान्यता विपरीत चलेको पोखरेलको धारणा छ । बीपी बाँचुञ्जेल कम्युनिष्टसँग मिलेर आन्दोलन गर्न नमानेका कारण पञ्चायत ३० वर्षसम्म चलेको उनले टिप्पणी गरे । मदन भण्डारीको पहल र गणेशमान सिंहको अग्रसरतामा कांग्रेस र कम्युनिष्ट मिलेर जनआन्दोलन गरेपछि २०४६ सालको आन्दोलन सफल भएको उनले प्रष्ट पारे ।

पोखरेलले २०४६ सालको परिवर्तनपछि संविधान बनाउने बेला पनि कांग्रेस अलग धारमा उभिएका कारण देश पछि परेको बताए । त्यतिबेला कांग्रेस वाममोर्चाको पक्षमा उभिएको भए राजतन्त्र त्यतिबेलै समाप्त हुने उनले प्रष्ट पारे ।

माओवादी र राजावादीबीच पनि गुप्त छलफल हुने गरेको र माओवादीले राजासँग मिलेर आन्दोलन गरेका पोखरेलले टिप्पणी गरे । माओवादी र राजावादीबीच सहमतिको तयारी भइरहेका बेला तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि माओवादी बाध्य भएर राजनीतिक दलसँग मिल्न आएको उनले बताए ।

‘माओवादीको प्रहारको निशाना कहिल्यै राजवादी बनेनन्, उनीहरूको प्रहारको निसाना कांग्रेस र एमाले थिए,’ उनले भने ।